२५ बैशाख २०८२, बिहीबार
चुरेमै बसेर चुरे संरक्षणबारे छलफल

  • टाइम्स संवाददाता

  • २५ बैशाख २०८२, बिहीबार १७:१२

कोहलपुर : चुरे डाँडामै पुगेर चुरे संरक्षणबारे छलफल गरिएको छ । ‘घुम्न जाऔँ बाँके राष्ट्रिय निकुञ्ज’ र ‘चुरे रहे मात्र रहन्छौँ हामी, दोहन रोकौँ बनेर ज्ञानी’ भन्ने मूल नाराका साथ चुरे क्षेत्रमै पुगेर संरक्षणका क्षेत्रमा काम गरिरहेका सरोकारवाला निकाय र स्थानीय सरकारका प्रतिनिधिबीच चुरे संरक्षणबारे छलफल गरिएको हो ।


बाँके, बर्दिया, सुर्खेत र सल्यान जिल्लाको जैविक करिडोर तथा बाँके र बर्दिया राष्टिय निकुञ्जका मध्यवर्ती क्षेत्रको चुरे क्षेत्र चमेरे डाँडामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वक्ताहरुले मानव जीवनका लागि चुरे क्षेत्रको महत्वबारे प्रकाश पार्दै यसको संरक्षणमा सबै व्यक्ति, संघसंस्था तथा समुदाय सक्रिय रुपमा लाग्नुपर्ने विचार व्यक्त गरेका थिए ।
सुर्खेतको भेरी गंगा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकालले वन तथा वन्यजन्तु संरक्षणमा आफ्नो नगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गरिरहेको जानकारी दिए । करिब ७५ प्रतिशत वन क्षेत्र रहेको भेरी गंगा नगरपालिकाको भौगोलिक बनावट पनि अत्यन्तै मनमोहक रहेको बताउँदै उनले यसलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न सकिने बताए । नगरपालिकाले वन क्षेत्रको संरक्षण र उपयोगका लागि ऐन नै बनाएर कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए । बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न मञ्चहरुमार्फत आफूले प्रचार प्रसार गर्ने प्रतिबद्धतासमेत नगर प्रमुख ढकालले जनाएका थिए । साथै संरक्षणका क्षेत्रमा काम गर्ने सरोकारवालााहरुसँग सहकार्य गर्दै अघि बढ्न आफू र आफ्नो नगरपालिका तयार रहेको उनको भनाइ थियो ।

 
कार्यक्रममा बाँके राष्टिय निकुञ्जका प्रमुुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले संरक्षणलाई अब समृद्धिसँग जोड्नुपर्ने विचार राखे । आफू पाँच स अर्थात संरक्षण, समन्वय, सहकार्य, समृद्धि र सहअस्तित्वलाई अभियानकै रुपमा लिएर अगाडि बढेको उनको भनाइ थियो । चुरे भावर क्षेत्रको आधिक्यता रहेको बाँके राष्ट्रिय निकुञ्जमा चुरे संरक्षण अपरिहार्य रहेको उनले बताए । यदि चुरे संरक्षण नगर्ने र दोहन मात्र गर्ने हो भने तल्लो तटीय गाउँबस्तीहरु जोखिममा पर्न सक्ने उनको भनाइ थियो । उनले बाँके राष्ट्रिय निकुञ्जमा घुम्नका लागि विभिन्न पूर्वाधारहरु तयार भइसकेकाले बाँके राष्ट्रिय निकुञ्जको भ्रमण गरेर प्रकृतिसँगको सामिप्यता अनुभूति गर्न पनि उनले आग्रहसमेत गरे ।
बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले संरक्षणलाई मध्यवर्ती क्षेत्रका बासिन्दाको आयआर्जन र मुलुककै समृद्धिसँग जोड्नका लागि निकुञ्जलगायत सरोकारवाला निकाय निरन्तर लाग्नुपर्ने बताए । उनले मध्यवर्ती क्षेत्रका बासिन्दाका थुप्रै पीडा र गुनासा रहेकाले उनीहरुका पीडा र गुनासा कम गर्न उनीहरुलाई आर्थिक रुपमा सक्षम बनाउनेतिर सबैले ध्यान दिनुपर्ने धारणा राखे ।
विश्व वन्यजन्तु संरक्षण पत्रकार मञ्चको आयोजनामा भएको चुरे संरक्षण संवाद कार्यक्रममा मञ्चका अध्यक्ष हुमहरि भट्टराईले संरक्षणका क्षेत्रमा काम गरिरहेका सरोकारवाला संघसंस्थाहरुसँग समन्वय र सहकार्य गरी वन र वन्यजन्तु संरक्षण, जैविक विविधता संरक्षण तथा पर्यापर्टनका क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले मञ्चको गठन भएको र चुरेको महत्वबारे जानकारी दिन चुरे क्षेत्रमै कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रमले जनमानसमा चुरे संरक्षणबारे सकारात्क सन्देश पु¥याउने हेतुले नै प्राकृतिक रुपमा मनोरम र बाँके, बर्दिया, सुर्खेत, सल्यानको सीमा क्षेत्रलाई कार्यक्रमस्थलका रुपमा छानिएको उनले बताए ।


मञ्चका महासचिव सनत सापकोटाले सञ्चालन गरेको कार्यक्रममा मञ्चका उपाध्यक्ष विष्णुप्रसाद बेल्बासे, रेडियो भेरीगंगा एफएमका निर्देशक यमलाल कँडेल, कोहलपुर उद्योग बाणिज्य संघका सदस्य गिरिधारी शर्मा सुबेदी, सुर्खेतकी युवा उद्यमी पवित्रा खरेललगायतका वक्ताहरुले आआफ्नो क्षेत्रबाट बाँके राष्ट्रिय निकुञ्जको प्रचारप्रसारमा आफूहरु टेवा पु¥याउने प्रतिबद्धता जनाएका थिए । उनीहरुले यसखाले कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र पर्यटकीय गतिविधि बढाउन सकिने उनीहरुको धारणा थियो ।
कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलले मेयर ढकाललाई बाँके राष्ट्रिय निकुञ्ज भ्रमणको निम्ता दिँदै मायाको चिनो हस्तान्तरण गरेका थिए । सो कार्यक्रमका लागि कोहलपुरस्थित गोरखा युनाइटेड पब्लिक स्कुल र युथ मिडिया हबले समन्वय तथा सहकार्य गरेका हुन् ।

Nabintech