विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन्। अध्यागमन विभागमा भएको भ्रस्टाचारका विषयमा गृहमन्त्री लेखकको नाम मुछिएपछि कोइरालाले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन्।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनु नै उपयुक्त हुने धारणा राखे। कोइरालाले भने, “अहिले मोरल स्टाटस के हो भने उहाँको नाम आइसकेपछि राजीनामा दिएर छानविनका लागि मार्ग प्रशस्त गर्नु नै उपयुक्त हुन्छ।”
उनले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको स्मरण गर्दै मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतालाई सघाउ पुग्ने बताए।