काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन् ।
महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्था बारे जानकारी गराउन बैठक डाकिएको पौडेलले जानकारी गराए । थापा सदस्यता व्यवस्थापन समितिको संयोजक हुन् । पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी गराए ।
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकको सचिवालय पनि मुछिएको भन्दै मन्त्रीले राजीनामा दिनुपर्ने माग उठेको छ । यसबारेमा पनि छलफल हुनेछ ।
केही कांग्रेस नेताहरूले लेखकमाथि प्रश्न उठ्ने बित्तिकै राजीनामा दिएर छानबिनका लागि सहज वातावरण बनाउन सुझाव दिइसकेका छन् ।