२४ जेष्ठ २०८२, शुक्रबार
कोहलपुर नगरपालिकाले रोजगार रणनीति बनाउने

  • टाइम्स संवाददाता

  • २० जेष्ठ २०८२, सोमबार २१:२१

कोहलपुर नगरपालिकाले रोजगार रणनीति बनाउने भएको छ । त्यसका लागि पहिलो चरणमा आज कोहलपुरका उद्योगी व्यवसायीसंग छलफल गर्दै सुझाव लिने काम गरिएको रोजगार सेवा केन्द्रका संयोजक आशिष वर्माले जानकारी दिए ।

रोजगारी सिर्जनाका लागि स्थानीय सरकारसंग समन्वय र सहकार्य गर्न तयार रहेको उद्योगी व्यवसायीले प्रतिबद्धता जनाएका छन् । उनीहरुले रोजगारी सिर्जना गर्ने कुरा चुनौतीपूर्ण रहेको भन्दै संघीय सरकारले नै नीतिगत व्यवस्था गरेर यो समस्यालाई समाधान गर्न सुझाए । व्यवसायीहरुलाई व्यवसाय संचालनमा सरकारले जति सक्यो सहज वातावरण बनाउन सक्यो त्यति धेरै रोजगारी सिर्जना हुने उनीहरुको विश्वास छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष प्रदीप भट्टराईले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए । आफूहरुले केवल सम्मान मात्र खोजेको उनको भनाई छ । उनले रोजगारी सिर्जना गर्नका निमित्त सबैभन्दा पहिला व्यवसायीहरुको संरक्षण गरिनुपर्नेमा जोड दिए । मुलुकको अर्थतन्त्र थिलोथिलो भइरहेको बताउँदै उनले यस्ता कार्यक्रमका माध्यमबाट व्यवसायहरुमा छुट्टै उर्जा आउने पनि बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य चक्र अधिकारीले कोहलपुरको पेरिफेरीमा सानादेखि ठूला उद्योगहरु रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । उनले व्यवसायिक कृषि गर्नेहरुलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए । उनले रोजगारीलाई सुरक्षित बनाउन स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका छन् ।

उद्योग बाणिज्य संघ कोहलपुरका संस्थापक अध्यक्ष कर्ण थापाले रोजगारी सिर्जनाका लागि आवश्यकताका आधारमा सीप सिकाउन जरुरी रहेको बताए । उनले प्रबिधिमैत्री तालिम दिनुपर्ने बताए । थापाले रोजगारी सिर्जनाका लागि राजनीतिक इमान्दारितामा समेत जोड दिए ।

उद्योग बाणिज्य संघ कोहलपुरका पूर्व अध्यक्ष चिन्तामणि धितालले स्थानीय सरकारले रोजगार नीति नै बनाएर रोजगारी सिर्जना गर्ने कुरा सकारात्मक रहेको बताए । उनले संघीय, प्रदेश र स्थानीय सरकार बीचका नीतिहरुमा एकरुपता हुनुपर्ने बताए । अहिले स्थानीय बजारमा दक्ष जनशक्ति अभाव रहेको पनि उनले उल्लेख गरे । उनले कृषि क्षेत्र रोजगारीको महत्त्वपूर्ण स्रोत रहेको बताए ।

अर्का पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठले खुल्ला सीमा नाकाबाट हुने कारोबारमा भन्सार कडाई नगरिँदासम्म स्थानीय रोजगारी सिर्जना गर्न चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘रोजगारी सिर्जनाका लागि पहिला सरकारी नीति राम्रो हुनुपर्‍यो । त्यसपछि उपभोक्ता इमानदार हुनुपर्‍यो । त्यसो भयो भने कम्तीमा स्थानीय उत्पादनले बजार पाउँछ । स्थानीयले रोजगार पाउँछन् ।’

यस्तै अर्का पूर्व अध्यक्ष नरेन्द्र शर्माले रोजगारी प्रदान गर्नका निमित्त रोजगारदाताहरुको पहिचान गरेर त्यसै अनुसार तालिम दिनुपर्ने बताए । उनले रोजगार खोज्नेहरुलाई सीप सिकाउनैपर्ने बताए । शर्माले भने, ‘रोजगारी खोज्नेहरुलाई सीपमूलक तालिम दिनै पर्ने जरुरी छ ।’ यस्तै निवर्तमान अध्यक्ष लक्ष्मण पौडेलले स्थानीय सरकारले बनाउने नीतिमा रोजगारी दिने कि सिर्जना गर्ने स्पष्ट हुनुपर्ने बताए । उनले स्वरोजगार बन्नेहरुलाई स्थानीय सरकारले संरक्षण गर्नुपर्ने बताए ।

Nabintech