राजावादी समूहको बैठकमा तनाबको स्थिति आएपछि दोस्रो चरणको आन्दोलन नै घोषणा हुन सकेन । बुधबार काठमाडौंको एक होटलमा भएको बैठकमा राजावादी समूहबीच नै तनाब हुँदा बैठकले आन्दोलनको घोषणा गर्न नसकेको हो ।
आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले राखेको बैठकमा विभिन्न समूहबीच तनाब भएको हो । यो बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएनन् ।
सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेता सहभागी भए पनि होहल्ला भएपछि उनीहरूले बोल्ने परिस्थिति नै बनेन । सुवेदी र थापाले समेत होहल्लालाई शान्त बनाउन सकेनन् ।
होहल्ला भएर कार्यक्रम नै अगाडि नबढेपछि सुवेदीले अर्को दिन अझै राम्रा कार्यक्रम ल्याउने भन्दै बैठक स्थगित गरे । ‘अहिले हुन नसके पनि पछाडि अझै राम्रो कार्यक्रम लिएर आउँछु’ बैठक विसर्जन गर्दै उनले भने ।
राजावादी आन्दोलनको मुख्य दल राप्रपा नै सहभागी नभएपछि अन्य विभिन्न घटकले होहल्ला गरेका हुन् । संसद् बैठकका कारण लिङ्देन उपस्थित हुन नसकेको भनेर बैठकको शुरूमै जानकारी गराइएको थियो। त्यसका बाबजुद पनि धेरै नेताहरूले असन्तुष्टि जनाएका थिए ।
त्यसपछि युवाहरूले ‘बूढाहरूबाट केही हुँदैन’ भन्दै छुट्टै बैठक गरिरहेको बताइएको छ। यसअघि उनीहरूले पाँच दिनसम्म काठमाडौंमा आन्दोलन गरेका थिए । आन्दोलनमा उल्लेख्य जनसहभागिता नभएपछि मंगलबार पहिलो चरणको आन्दोलन समाप्त गरिएको थियो । बुधबार आन्दोलनको समीक्षा र अर्को चरणको आन्दोलन घोषणा गर्ने भन्दै बैठक बोलाइएको थियो । तर, बैठकमा लफडा भएपछि न समीक्षा भयो न अर्को आन्दोलनको घोषणा नै ।