२५ जेष्ठ २०८२, शनिबार
अमेरिकामा एकै परिवारका चार नेपालीको गोली हानेर हत्या, नेपाली समुदाय स्तब्ध

  • टाइम्स संवाददाता

  • २५ जेष्ठ २०८२, शनिबार १४:४१

काठमाडौं – अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपाली नागरिकको गोली हानी हत्या भएको घटनाले नेपाली समुदायलाई स्तब्ध बनाएको छ । मनासस पार्कस्थित एक अपार्टमेन्टमा बिहीबार राति करिब १०स्४० बजे प्रहरी पुग्दा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक र ८ वर्षीया बालिका मृत अवस्थामा फेला परेका थिए। घटनास्थलबाट एकवटा बन्दुक पनि बरामद गरिएको छ। घरको तल्लो तलामा बस्ने उनीहरुसँग सम्पर्क हुन छाडेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए ।

प्रारम्भिक अनुसन्धानका अनुसार यो घटनालाई हत्या(आत्महत्या (मर्डर-सुसाइड)को रूपमा हेरिएको छ। तर, कसले गोली चलायो भन्ने बारेमा प्रहरीले अहिलेसम्म आधिकारिक रूपमा केही खुलाएको छैन । यस घटनामा एक बालिका मनासस पार्क सिटी स्कूलको विद्यार्थी भएकाले विद्यालयले शोक सन्देश जारी गर्दै मानसिक स्वास्थ्य सहयोगको व्यवस्था गरेको छ।

यस घटनाले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायमा गहिरो शोक र चिन्ता पैदा गरेको छ। समाजमा बढ्दो घरेलु हिंसा र मानसिक स्वास्थ्य समस्याहरूको समाधानका लागि थप सचेतना र सहयोगको आवश्यकता रहेको छ। यस घटनासँगै, मनासस पार्कका अर्का नेपाली नागरिक, नरेश भट्ट, जसले आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको आरोपमा पक्राउ परेका छन्, यस क्षेत्रको दोस्रो चर्चित हत्या प्रकरण बनेका छन्। नरेश भट्टलाई पत्नीको शव नपाएर पनि हत्या र शवको अपमानको आरोपमा अभियुक्त बनाइएको छ।

यी घटनाहरूले अमेरिकामा रहेका नेपाली समुदायमा मानसिक स्वास्थ्य र घरेलु हिंसा सम्बन्धी थप छलफल र समाधानको आवश्यकता औंल्याएका छन्।

Nabintech