इरानमा रहेका आणविक संरचनामा अमेरिकाले आक्रमण गरेलगत्तै इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले अमेरिकाले अहिलेसम्मकै ठूलो क्षति र प्रहार भोग्नुपर्ने चेतावनी दिएका छन् । गएराति अमेरिकी बी-२ स्टिल्थ बमवर्षकले इरानका तीन प्रमुख आणविक संरचना फोर्डो, नतान्ज र इस्फानमा आक्रमण गरेपछि इरानको यस्तो प्रतिक्रिया आएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो हमलालाई शानदार सैन्य सफलताु भनेता पनि इरानले यसलाई युद्धको घोषणा मानेको छ । इरानी कट्टरपन्थी नेता होस्सेन शरियतमदारीले तत्काल प्रतिक्रिया दिन माग गर्दै बहराइनमा रहेको अमेरिकी नौसेनाको जहाजमा मिसाइल हमला र होर्मुज स्ट्रेटलाई अमेरिकी, बेलायती, जर्मन र फ्रान्सेली जहाजका लागि बन्द गर्नुपर्ने बताएका छन् ।
विश्वकै लागि तेल व्यापारको एउटा महत्त्वपूर्ण सामुद्रिक मार्ग मानिएको होर्मुज स्ट्रेटमाथि इरानले नियन्त्रण गर्यो भने तेलको मूल्य आकाशिन सक्ने भन्दै विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् । पर्सियन र ओमानको खाडीलाई जोड्ने एउटा सानो जलमार्गलाई होर्मुज स्ट्रेट भनिन्छ । यो विश्वको सबैभन्दा महत्त्वपूर्ण व्यापारिक चोकपोइन्टुमध्ये एक हो । यो स्ट्रेट इरानको दक्षिणी तट र ओमानको मुसन्दम प्रायद्वीपबीच अवस्थित छ । यसले इरानलाई बहराइन, कतार, यूएई र ओमानसँग छुट्याउँछ ।
यसको सबैभन्दा साँघुरो भागको चौडाइ केवल ३३ किलोमिटर छ । तर, पानी जहाज ओहोरदोहोर गर्न पाउने क्षेत्र धेरै नै साँघुरो छ । यहाँबाट विश्वको करिब २० प्रतिशत तेल (दैनिक २० मिलियन ब्यारेल) र एकतिहाइ तरल प्राकृतिक ग्यास आपूर्ति हुन्छ ।
साउदी अरब, कुवेत, कतार र इरानजस्ता प्रमुख तेल निर्यातकहरूका लागि यो एकमात्र समुद्री मार्ग हो । स्ट्रेटमा दुईवटा ३ दशमलव २ किलोमिटर चौडा जलमार्ग छन्, जुन आउने र जाने जहाजहरूको लागि प्रयोग हुन्छ । इरानको सैन्य उपस्थिति र किश्म, होर्मुज तथा हेन्जम जस्ता टापुहरूले यस क्षेत्रलाई रणनीतिक रूपमा संवेदनशील बनाएका छन् ।
यदि इरानले यो मार्ग बन्द गर्यो भने विश्व बजारमा तेलको मूल्य १२० देखि १५० डलर प्रति ब्यारेल पुग्न सक्ने बताइएको छ । यसले विश्वभर आर्थिक संकट निम्त्याउन सक्छ । यद्यपि, होर्मुज स्ट्रेट बन्द गरिदने भनेर इरानले दिएको यो धम्की नयाँ भने होइन ।
सन् १९८० देखि १९८८ सम्म चलेको इरान–इराक युद्धको समयमा इरानले तेल ट्याङ्करहरूलाई निशाना बनाएको थियो, तर स्ट्रेट पूर्ण रूपमा बन्द भएको थिएन । सन् २०१९ मा फुजैराह नजिकै चारवटा जहाजमा इरानी आक्रमण हुँदा पनि तनाव बढेको थियो । तर, अहिलेको इरानको धम्कीलाई विश्वले बढी गम्भीरतापूर्वक लिएको छ ।
इरानले नौसैनिक माइन, ड्रोन र छोटो दूरीका ब्यालिस्टिक मिसाइल प्रयोग गरी स्ट्रेटमा जहाज आवागमन अवरुद्ध गर्न सक्ने केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । आफ्नै तेल निर्यातका लागि पनि महत्त्वपूर्ण मार्ग रहेकाले इरानले यसलाई पूर्ण रूपमा बन्देज गर्न नसक्ने केही विश्लेषकहरूको दाबी छ ।
यो इरान र चीनबीच तेललगायत अन्य सामग्री आयात-निर्यात गर्ने मुख्य जलमार्ग पनि हो । अहिले अमेरिकी नौ सेनाको एउटा जहाज बहराइनमा तैनाथ छ । यो क्षेत्रमा बेलायत र फ्रान्सका नौसैनिकहरू पनि सक्रिय छन् । इरानले होर्मुजमा अवरोध गर्ने प्रयास गरे अमेरिकाले सैन्य जवाफ दिन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । ट्रम्पले इरानको कुनै पनि प्रतिशोधलाई अझै ठूलो फोर्ससहित जवाफ दिने चेतावनी दिएका छन् ।