१२ असार २०८२, बिहीबार
बाँकेमा मनसुनजन्य दुर्घटना रोक्न ट्राफिक प्रहरीद्वारा सचेतना

  • टाइम्स संवाददाता

  • १२ असार २०८२, बिहीबार ११:००

जिल्लाका सवारी चालक र सह–चालकहरुलाई लक्षित गरेर बाँकेमा ट्राफिक प्रहरीले यान्त्रिक जाँच तथा मनसुनजन्य दुर्घटना सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुरस्थित नयाँ बसपार्कमा सो यान्त्रिक जाँच तथा मनसुनजन्य दुर्घटनासम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले पहिलो पटक जिल्लाका सवारी चालक र सह–चालकलाई वर्षायाममा हुने यान्त्रिक गड्बडी तथा मनसुनजन्य दुर्घटनाबाट जोगिने उपायका बारेमा जानकारी दिइएको बताउनुभयो ।

उहाँले वर्षायाममा यान्त्रिक गड्बडी हुने र मनसुनका बेला खोला, नालामा आउने बाढी तथा सडकमा जमेको पानी बाटो नदेखिने र पानी परिरहेका बेला बाटो नदेखिने हुँदा यस्तो बेलामा सवारी साधन कसरी चलाउने र दुर्घटना हुनबाट कसरी जोगिन सकिन्छ भन्ने सचेतना दिइएको बताउनुभयो ।

कार्यक्रममा सवारी साधनको यान्त्रिक जाँचसमेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पन्तले बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘‘वर्षायाममा सवारी दुर्घटनाको जोखिम अति बढि हुन्छ । थोरै असावधानीले सवारी दुर्घटना भई धन र जनको क्षति हुनसक्ने हुँदा सवारी चालकलाई सोबाट जोगिन सचेत पारिएको हो ।’’

सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको भन्दा चालक र सह–चालकको भूमिका महत्त्वपूर्ण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । ‘‘सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिकको भूमिका पर्याप्त हुन सक्दैन । यसमा चालक, सहचालक, सवारी धनी, यातायात व्यवस्था कार्यालय, सडक विभागलगायत सबै सरोकारवाला निकायहरूको संयुक्त प्रयास जरुरी छ,’’ जिल्ला ट्राफिक प्रहरी प्रमुख पन्तले भन्नुभयो ।

सो कार्यक्रममा वरिष्ठ सई प्रवीण आचार्यले गाडीको नियमित मर्मत तथा चालकले अपनाउने सुरक्षा तथा सतर्कताले सवारी दुर्घटना घटाउने बताउनुभयो । उहाँले गाडीको नियमित मर्मत, सम्भार, चालक अनुमतिपत्र सवारी सुरक्षाका अत्यन्त महत्त्वपूर्ण पक्ष रहेको पनि बताउनुभयो ।

इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले सडक सुरक्षामा प्रहरी र नागरिकबिचको सहकार्य अपरिहार्य रहेको जनाउनुभयो ।  कार्यक्रममा बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले ट्राफिक प्रहरीले सञ्चालन गर्ने सचेतनामूलक कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरणमा प्रभावकारी हुँदै आएको बताउनुभयो ।

सो अवसरमा विभिन्न ३९ वटा सवारी साधनको यान्त्रिक जाँच गरिनुका साथै सहभागी ९० जना चालक तथा सह–चालकलाई सचेतनासम्बन्धी सामग्रीहरू प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Nabintech