१९ असार २०८२, बिहीबार
मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा

  • टाइम्स संवाददाता

  • १९ असार २०८२, बिहीबार १२:३७

नेपालले असार १९ मा काठमाडौंमा भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गरी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गर्यो।  परिमार्जन यादवले अविजित ५९ रन बनाउँदै नेपाललाई जित सुनिश्चित गरे, मलेसियाले ९० रन बनाएको थियो।
नेपालले हङकङ र सिंगापुरबीचको विजेतासँग फाइनल खेल्नेछ।
१९ असार, काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो । मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । परिमार्जन यादवले अविजित अर्धशतक बनाए । उनी ३५ बलमा ५९ रनमा नटआउट रहे । शिवांश बजगाइले अविजित २३ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसिया नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि ९० रनमा अलआउट भएको थियो । मलेसियाले ४३।१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाएको थियो ।

मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  नेपालका लागि अभय यादवले १० ओभरमा १५ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए । सुभम खनालले १० ओभरमा ४ मेडन राख्दै १२ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले १.१ विकेट लिए ।

नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।

Nabintech