जिल्ला प्रहरी कार्यालय बाँकेमा पछिल्लो समयमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएका पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्षको २०८१/८२ मा ३०९ वटा साइबर अपराधसम्बन्धी उजुरी परेका छन् । ती उजुरीमध्ये सबैभन्दा बढी नेपालगन्ज र कोहलपुरमा दर्ता भएको जनाउँदै प्रहरी नायब उपरीक्षक पातलीले दुई वटा घटनाको मात्र मुद्दा दर्ता भएको जानकारी दिँदै सबै उजुरी विद्युतीय अपराधसँग सम्बन्धित रहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०८०/ ८१ मा २७० उजुरी परेकामा एउटा घटनाको मात्र मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष २०७९/८० मा १०६ र आर्थिक वर्ष २०७८/७९ मा ५८ वटा मात्र साइबर अपराधसम्बन्धी उजुरी परेका थिए ।
प्रहरीका अनुसार विदेशबाट पनि साइबर कानुन उल्लङ्घन गरेको पाइएको छ । यसरी पर्ने उजुरीहरूमा ठगी, चरित्र हत्या, गोपनीयता भङ्ग गर्नेदेखि प्रोनोग्राफिक सामग्री सार्वजनिक एवम् प्रसारण गरेको जस्ता घटनाहरु रहेको जनाइएको छ । साइबर कानुन उल्लङ्घन फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट हुने गरेको प्रहरीको भनाइ छ । साइबर अपराधसम्बन्धी कानुनबारे सचेत नहुँदा घटनाहरु हुने गरेको अधिवक्ता बसन्त गौतमले बताउनुभयो । उहाँले साइबर अपराध कम गर्नका लागि सामाजिक सञ्जाल प्रयोगकर्ता सचेत हुन जरुरी रहेको सुझाव दिनुभयो ।
अधिवक्ता गौतमले भन्नुभयो, ‘‘अहिले मर्यदाविपरीत तस्वीर र भिडियो पोस्ट गर्ने प्रचलन जस्तो भयो, यसले स्वयं व्यक्ति र समाजलाई पनि राम्रो गरेको छैन, हरेक नागरिक सचेत नभएसम्म यस्ता किसिमका अपराधका घटना कम गर्न गाह्रो हुन्छ ।’’ चिनजानका आधारमा मोबाइल बैंकिङका पासवर्ड अरुलाई दिने र अपरिचित लिङ्क खोल्दा धेरैको फेसबुक ह्याक हुने गरेको धेरै व्यक्ति पीडित हुनुपरेको अधिवक्ता गौतम बताउनुहुन्छ । उहाँका अनुसार मुलुकी ऐन तथा अन्य ऐनका विभिन्न दफा लगाएर कानुन कारबाही हुँदै आएकोमा विद्युतीय कारोबार नियन्त्रणसम्बन्धी ऐन २०६३ लागू भइरहेको छ ।
साइबर अपराधअन्तर्गत विद्युतीय कारोबार नियन्त्रणसम्बन्धी ऐन २०६३ को दफा ४४ देखि दफा ५८ सम्म विभिन्न प्रकारका कसुरको उल्लेख गरी सो प्रमाणित भएमा कानुन अनुसार ५० हजार रुपियाँदेखि पाँच लाखसम्म जरिवाना तथा छ महिनादेखि पाँच वर्षसम्मका जेल सजाय कसुर अपराधको मात्रा हेरी अदालतले तोक्न सक्ने कानुनी प्रावधान रहेको छ ।