बर्दिया जिल्लामा प्रजनन उमेरका महिला र किशोरीहरूका लागि अत्यावश्यक आइरन र फोलिक एसिड (IFA) ट्याब्लेटको गम्भीर अभाव भईरहेका बेला आज १० लाख IFA ट्याब्लेटहरू जिल्ला स्वास्थ्य कार्यालय बर्दियालाई हस्तान्तरण गरिएको छ। यो स्वास्थ्य संकट न्यूनीकरणतर्फको एक महत्त्वपूर्ण सफलता मानिएको छ।
ENRUDEC बाँकेका अध्यक्ष धर्मलाल रोकायले किशोरी र गर्भवती महिलाहरुको स्वास्थयलाई मध्यनजर गरेर तत्कालै बिगत ३ महिना देखि अभाव रहेको आइरन चक्की स्वास्थ कार्यालय बर्दियालाई हस्तान्तरण गरेको र यसको सहि तरिकारले सदुपयोग हुने बिश्वास समेत लिएको प्रतिक्रिया दिएका छन ।
जिल्लास्थित तीन पालिकामा अहिले IFA ट्याब्लेट पूर्णरूपमा अभाव छ भने बाँकी पाँच पालिकामा पनि हाल रहेको स्टक यो महिनाभित्रै म्याद समाप्त हुने अवस्थामा पुगेको छ। यो अभावले बर्दिया जिल्लाका १८०० भन्दा बढी गर्भवती महिला र सयौँ किशोरीहरूको पोषण सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको छ। यदि समयमै समाधान नगरेमा गम्भीर मातृ तथा नवजात स्वास्थ्य जटिलता, जस्तै रगतको कमी (anemia), सुत्केरी समयमा जटिलता र कम तौलमा बच्चा जन्मिने सम्भावना बढ्ने देखिन्छ।
स्वास्थ्य कार्यालय (HO) बर्दियाले हाल ADRA Nepal द्वारा सञ्चालित Health Reform Project (HRP) अन्तर्गतको मातृ तथा शिशु स्वास्थ्य पोषणमा लामो समयदेखिको अनुभव र प्रतिबद्धतालाई आधार बनाई, तत्कालीन संकट समाधानको लागि औपचारिक अनुरोध गरेको थियो। सो अनुरोधअनुसार, आगामी तीन महिनाको आवश्यकता पूरा गर्न ८ देखि १० लाख IFA ट्याब्लेटको आपूर्ति माग गरिएको थियो।
यस अपिललाई समयमै सम्बोधन गर्दै, ADRA Nepal ले ADRA Japan र जापान सरकारअन्तर्गतको परराष्ट्र मन्त्रालय (MoFA Japan) सँग सहकार्यमा, २५ दिनभित्रै १० लाख IFA ट्याब्लेट खरिद गरी आज औपचारिक रूपमा हस्तान्तरण गरेको हो।