१२ श्रावण २०८२, आईतवार
नेपालगञ्ज वडा नम्बर १२ स्थित बेलासपुरमा एक युवतीको बीभत्स हत्या

  • टाइम्स संवाददाता

  • ११ श्रावण २०८२, शनिबार १७:४०

नेपालगञ्ज वडा नम्बर १२ स्थित बेलासपुरमा एक युवतीको बीभत्स हत्या भएको छ । नेपालगञ्ज(१२ मा रहेको सुनाखरी रेष्टुरेन्टकी कर्मचारी २२ वर्षीया निर्मला थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।  दैलेख घर भएर विगत ४ वर्षदेखि वीपी चोकस्थित सुनाखरी रेष्टुरेन्टमा काम गर्दै आएकी २२ वर्षिया निर्मलाको बेलासपुरमा हत्या भएको प्रहरीले जनाएको छ । बाँके प्रहरीका अनुसार निर्मलाको नेपालगञ्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रुपमा काम गर्ने बर्दिया घर भएका ३५ वर्षिय प्रकाश सुनारले हत्या गरेका हुन् ।

बुधबार नेपालगञ्ज वडा नम्बर १२ बेलासपुरमा निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरी प्रकाशले निर्मलाको बहिनीलाई तिम्रो दिदीलाई मैले मारेुं भन्दै फोन गरेका थिए । त्यसपछि उनले आफ्नो सबै साथीभाई र आफन्तलाई भेटेर अब यति हो है भेटघाट भन्दै गएराती २ बजेतिर आफैं जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेर हत्या भएको कुरा बताएपछि प्रहरीले कोठामा शव भेटाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

निर्मलाको परिवार आज नेपालगञ्ज आएपछि शवको पोष्टमार्टम गरिएको बाँके प्रहरीले जानकारी दिएको छ । एक श्रीमतीसहित एक छोरा र एक छोरी बर्दियामा रहेको अवस्थामा प्रकाशले निर्मलालाई अविवाहित भनेर बताउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जानकारी दिएको छ । बाँके प्रहरीले प्रकाशसँग कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान जारी रहेको जनाएको छ ।

Nabintech