आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै बाँके जिल्लामा हालसम्म इजाजतपत्र ९लाइसेन्स० प्राप्त ८० थान हतियार बुझाइएको छ ।
गत माघ ६ गते जिल्ला प्रशासन कार्यालय बाँकेले चुनावी सुरक्षालाई मध्यनजर गर्दै लाइसेन्स प्राप्त तथा अवैध हतियार अनिवार्य रूपमा बुझाउन सूचना जारी गरेको थियो । सोही सूचनापछि हालसम्म ८० थान हतियार सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए ।
उनका अनुसार बुझाइएका हतियारमध्ये बारबोर र भरुवा बन्दुक रहेका छन् । “हालसम्म ८० थान हतियार बुझाइएको छ, तर यो संख्या अझै बढ्न सक्ने देखिन्छ,” डीएसपी पातलीले बताए ।
उनले समयमै हतियार बुझाउन सबैलाई आग्रह गर्दै कडा चेतावनी समेत दिएका छन् । “जो–जससँग हतियार छन्, तोकिएको समयभित्र अनिवार्य रूपमा बुझाउनुपर्छ । नबुझाई लुकाएर राखेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ,” उनले भने ।
प्रहरीले निर्वाचनलाई निष्पक्ष, सुरक्षित र शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा व्यवस्थापन तीव्र पारिएको जनाएको छ ।










