फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा बाँके क्षेत्र नम्बर १ मा पार्टीका उम्मेदवार नारायण प्रसाद गौडेललाई जिताउन काँग्रेसका क्षेत्रीय सभापति पोषण केसी र निवर्तमान सभापति माधवराम खत्री एकसाथ घरदैलोमा निस्किएका छन् । उनीहरु पहिलोपटक सोमवार कोहलपुर नगरपालिका वडा नम्बर ९ भवानीपुरमा गौडेलको घरदैलोमा निस्किएपछि कार्यकर्ताहरू उत्साहित देखिएका छन् । ‘आजको घरदैलोमा केसी र खत्री गौडेलसँगै देखिएपछि कार्यकर्ताहरु अत्यन्तै उत्साहित देखिए,’ काँग्रेसका कार्यबाहक वडा सभापति गंगा ओलीले भनिन्, ‘बाहिर देखिएका भ्रम मेटिएको छ । गौडेललाई जिताउन सबै नेता एक ठाउँमा आएको प्रष्ट भएको छ ।’
क्षेत्रीय सभापति केसी र निवर्तमान क्षेत्रीय सभापति खत्री पनि टिकटका आकांक्षी थिए । क्षेत्रीय सभापति केसी यस अघि नै चुनावी अभियानमा सक्रिय भए पनि निवर्तमान क्षेत्रीय सभापति खत्री भने देखिएका थिएनन् । तर, सोमवारदेखि खत्री पनि चुनावी घरदैलोमा देखिएपछि क्षेत्र नम्बर १ मा काँग्रेस कार्यकर्ताहरु थप उत्साहित भएका हुन् । ‘पारिवारिक काम विशेषले काठमाडौंमा थिएँ,’ निवर्तमान सभापति खत्रीले भने, ‘फर्किए लगत्तै चुनावी अभियानमा फिल्डमा उत्रिसकेँ । काँग्रेसका कुनै पनि कार्यकर्ता अलमलमा पर्न जरुरी छैन । रुख चिन्हमा मतदान गरेर काँग्रेस जिताउने अभियानमा लाग्न आग्रह गर्दछु ।’
उम्मेदवार गौडेल जिल्ला सभापति हुन् । काँग्रेसका प्रभावशाली नेताहरू एक ठाउँमा उभिएपछि काँग्रेसको पक्षमा जनलहर बढेको छ । ‘भेट्रान नेताहरू एक भएर चुनावी अभियानमा होम्मिएपछि मतदाताहरूमा पनि ऊर्जा थपियो,’ कोहलपुर नगरपालिका ९ की सुनिता विष्टले भनिन्,‘अब काँग्रेसलाई कुनै ताकतले हराउन सक्दैन ।’ सोमवार वडा नम्बर ९ का भवानीपुर, समावेशी टोल र वडा नम्बर १० का विभिन्न टोल तथा बस्ती लगायतमा घरदैलो गरिएको क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले जानकारी दिए ।






