८ बैशाख २०८३, मंगलवार
देश जलाउने होइन, देश बनाउने अभियान जारी छ: बाँके–१ उम्मेदवार सूर्य ढकाल

  • टाइम्स संवाददाता

  • १२ फाल्गुन २०८२, मंगलवार २०:२९

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकालले “देश जलाउने होइन, देश बनाउने अभियान जारी छ” भन्ने नारासहित चुनावी अभियानलाई तीव्र बनाएका छन् ।

बाँकेको विभिन्न गाउँ–टोलमा आयोजित घरदैलो तथा कोणसभामा बोल्दै ढकालले देशमा अस्थिरता, निराशा र विभाजनको राजनीति अन्त्य गर्दै विकास, सुशासन र समृद्धिको यात्रामा अघि बढ्न आवश्यक रहेको बताए । उनले एमाले नेतृत्वको सरकारले अघि सारेका पूर्वाधार विकास, रोजगारी सृजना र सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिन आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारेका छन् ।

ढकालले युवापुस्ताको विदेश पलायन रोक्न स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिदै, कृषि, साना तथा मझौला उद्योग, पर्यटन र सीमावर्ती व्यापारलाई व्यवस्थित गर्दै बाँकेलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने आफ्नो योजना रहेको उनले बताए ।

उनका अनुसार देशलाई अस्थिरता र अराजकतातर्फ धकेल्ने गतिविधिले समृद्धि सम्भव नहुने भएकाले राजनीतिक स्थायित्व पहिलो सर्त हो । “हामी विध्वंस होइन, निर्माणको पक्षमा छौं । जनताको विश्वासलाई विकासमा रूपान्तरण गर्नु नै हाम्रो मुख्य लक्ष्य हो,” ढकालले भने ।

चुनावी अभियानका क्रममा एमालेका स्थानीय नेता–कार्यकर्ताले पनि पार्टीको संगठन बलियो रहेको दाबी गरेका छन् । उनीहरूले विगतका निर्वाचनमा प्राप्त मत परिणाम र जनस्तरको समर्थनलाई आधार मानेर यसपटक बाँके–१ मा विजयी हुने विश्वास व्यक्त गरेका छन् ।

बाँके–१ मा विभिन्न दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिए पनि एमालेले विकास र स्थायित्वको एजेन्डालाई केन्द्रमा राखेर प्रचार–प्रसारलाई अगाडि बढाएको छ । मतदातासँग प्रत्यक्ष संवाद गर्दै ढकालले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र खानेपानी जस्ता आधारभूत सेवामा सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

आगामी निर्वाचनलाई विकास र स्थायित्वको जनमतका रूपमा व्याख्या गर्दै उम्मेदवार ढकालले मतदातालाई देश बनाउने अभियानमा साथ दिन अपिल गरेका छन् ।

Nabintech