नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आज वडान १८ का विभिन्न् टोलहरूमा घरदैलो गर्नुभएको छ। राईले वडा नं १८ का प्रगति नगर, अम्मर नगर र पशुपति टोलमा आज विहान घरदैलो गर्नुभएको हो।
घरदैलोका क्रममा मतदाताहरूले आफ्ना क्षेत्रमा आवश्यक विकासका आधारभूत विषयहरूबारे उम्मेदवार राईको ध्यानाकर्षण गराउनुभएको थियो। राईले आफू जहिले पनि विकास-निर्माण र नीतिगत सुधारमार्फत जनताका समस्याहरू सम्बोधन गर्न तत्पर रहेको जवाफ दिनुभएको थियो।
मतदाताहरूसँग भेटका क्रममा राईले भन्नुभयो- ‘तपाइँहरूको वडामा नेकपा एमालेबाट विजयी वडाध्यक्षले राम्रो काम गरिरहनुभएको छ। अब हामी एकैठाउँ भइसकेका छौं। प्रतिनिधिसभा सदस्य निर्वाचित भएर आएपछि हामी दुबै युवा जोसका साथ मिलेर काम गर्छौं। अनि यहाँ विकासको रफ्तार झनै बढ्छ।’
यसअघि आफू प्रतिनिधि सभा सदस्य हुँदा र मन्त्री हुँदा गरेका कामहरूको फेहरिस्त लिएर मतदाताहरूमाझ पुगिरहनुभएका उम्मेदवार राईले यो निर्वाचनमा आधुनिक क्रिकेट स्टेडियम निर्माण, भेरी अस्पतालबाट विशिष्टिकृत सेवा, नेपालगन्ज(डुडुवा हुँदै पूर्वपश्चिम यात्रा गर्नुपर्नेगरी वैकल्पिक सडक मार्ग निर्माणलाई आफ्नो प्रमुख मुद्दा बनाउनुभएको छ।
त्यस्तै नीतिगत सुधारमार्फत लागुऔषध समस्याको सम्बोधन गर्ने, सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार्ने, प्रसुति सेवालाई विस्तार गर्ने, सांस्कृति-धार्मिक धरोहरहरूको संरक्षण गर्ने लगायतका प्रतिबद्धता पनि राईले जनाउनुभएको छ।










