२१ चैत्र २०८२, शनिबार
प्रतिनिधिसभा चुनाव स् ३८८ प्रतिस्पर्धी महिला मध्ये १४ मात्रै निर्वाचित

  • टाइम्स संवाददाता

  • २५ फाल्गुन २०८२, सोमबार ०५:५६

प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट १४ जना महिला उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार रास्वपाबाट १३ र कांग्रेसबाट एक जना प्रतिनिधिसभा सदस्य बनेका छन् । रास्वपाले १६ र कांग्रेसले ११ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारहरू खडा गरेको थियो ।

यस्तै नेकपा एमालेले १० र नेपाली कम्युनिष्ट पार्टीले ११ महिलालाई उम्मेदवार बनाएको थियो । आयोगका अनुसार निर्वाचनमा ३८८ महिला उम्मेदवारहरू प्रतिस्पर्धामा थिए ।

कांग्रेसबाट उम्मेदवार बनेका ११ महिला नेतृमध्ये बासना थापाले मात्रै जित निकालेकी छन् । उनी दैलेख–१ मा १२ हजार ३७२ मत ल्याएर प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार रविन्द्रराज शर्माले ११ हजार ७६९ मत पाउँदा रास्वपाका नन्दकिशोर बस्नेत आठ हजार १५१ मतसहित तेस्रो भएका छन् ।

रास्वपाबाट निवर्तमान उपसभामुख इन्दिरा राना मगर झापा–२ मा ६० हजार ११० मतसहित विजयी भएकी छन् । यस्तै चितवन–३ मा ५९ हजार २७७ मत ल्याएर सोबिता गौतम निर्वाचित भएकी छन् ।

झापा–१ बाट ४५ हजार ६८० मतसहित निशा डाँगी र सर्लाही–१ बाट ४४ हजार १८१ मतसहित नीतिमा भण्डारी कार्की विजयी भएको आयोगले जनाएको छ ।

यस्तै तोसिमा कार्की ललितपुर–३ बाट ४३ हजार ९६, आशिका तामाङ धादिङ–१ बाट ३९ हजार १२८ मत ल्याएर विजयी भएका छन् । सप्तरी–१ बाट विजयी पुष्पाकुमारी चौधरीले ३८ हजार १९५, कास्की–३ बाट विजयी बिना गुरूङले ३७ हजार ७५० मत ल्याएका छन् ।

आयोगका अनुसार रास्वापा नेतृ आशा झा मोरङ–५ र गौरी कुमारी महोत्तरी–४ बाट विजयी भएका छन् । उनीहरूले क्रमशः ३० हजार ४३४ र ३० हजार १३२ मत पाएका छन् ।

रास्वपा नेतृ कोमल ज्ञवाली कैलाली–१ बाट १७ हजार ८२६ मत र रञ्जु न्यौपाने काठमाडौं–१ बाट १५ हजार ४५५ मत पाएर निर्वाचित भएका छन् ।

त्यसैगरी मोरङ–६ बाट रुबिना आचार्य विजयी भएकी छन् । उनले ५५ हजार ५१३ मत पाएको आयोगले जनाएको छ ।

Nabintech