काठमाडौं – नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव हुनुमा आपूर्तिको कमी नभई बिक्रेताहरूको अनियमितता र उपभोक्ताको सञ्चय गर्ने प्रवृत्ति मुख्य जिम्मेवार रहेको बताएको छ ।
निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार हाल ग्यास आयातमा कुनै अवरोध छैन । उद्योगीहरूले पनि बजारको मागअनुसार पर्याप्त मात्रामा ग्यास आयात गरेर पठाइरहेका छन् । तर, बजारमा उपभोक्ताले सहजै ग्यास नपाएको गुनासो बढेपछि निगम आपूर्ति प्रणालीमा देखिएको समस्या समाधानमा जुटेको छ ।
आयात र उद्योगबाट हुने उत्पादनमा कुनै कमी नहुँदा पनि बजारमा अभाव देखिएपछि निगमले ग्यास बिक्रेताहरूलाई उद्योगबाट प्राप्त परिमाणको विवरण अनिवार्य बुझाउन निर्देशन दिएको छ ।
अनियमितता रोक्न बिक्रेताहरूले बिक्री(वितरणको पारदर्शी रेकर्ड राख्नुपर्ने र सोही आधारमा मात्र कारोबार गर्नुपर्ने व्यवस्था गरेको प्रवक्ता ठाकुरले बताए ।
उनले भने, ‘भारतबाट माग अनुसारको ग्यास आयात भएको छ । उद्योगले पनि बिक्रेतालाई ग्यास पठाएको तथ्याङ्क हामीलाई दिएका छन् । तर, उपभोक्ताहरूमा भने ग्यास पाएनौँ भन्ने गुनासो छ । कृत्रिम अभाव हटाउन निगम लागिपरेको छ । बिक्रेताले उद्योगबाट खरिद गरेको र बिक्री गरेको स्पष्ट विवरण राख्न निर्देशन दिइएको हो ।’
ठाकुरका अनुसार अनावश्यक सञ्चय गर्ने प्रवृत्तिले पनि समस्या निम्त्याएको हो । एकै व्यक्तिले चार–पाँच वटासम्म सिलिन्डर भरेर राख्दा तत्काल आवश्यक पर्ने सर्वसाधारण मर्कामा परेका छन् ।
उद्योगले पठाएको ग्यास र बिक्रेताले वितरण गरेको तथ्याङ्क मिलान गर्ने हो भने कृत्रिम अभाव तत्काल हट्ने निगम बताउँछ । सोही प्रयोजनका लागि तथ्याङ्क राख्न निर्देशन दिइएको ठाकुरले बताए । निगमले आयात पर्याप्त रहेको बताए पनि बजारमा भने उपभोक्ताले ग्यासका लागि केही दिन कुर्नुपर्ने अवस्था देखिएको स्वयम् निगमले स्वीकार गरेको छ ।
ग्यास लुकाउने वा कालोबजारी गर्ने कार्यको अनुगमन गर्ने मुख्य निकाय वाणिज्य विभाग हो । निगमले आपूर्ति सहज रहेको दाबी गरिरहँदा बजारमा अभाव देखिनुले कालोबजारीको सङ्केत गर्दछ । यसका लागि विभागले बजारको नियमित र प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
दैनिक १ लाख सिलिन्डरको माग रहेकोमा उद्योगले विक्रेतालाई सो परिमाणमा ग्यास दिइरहेको छ । तर, बजारमा भने अभाव हटेको छैन ।











