२७ चैत्र २०८२, शुक्रबार
सरकारको करछुटले पनि रोकिएन मूल्यवृद्धि, अब इन्धनको भाउ कति ?

  • टाइम्स संवाददाता

  • २७ चैत्र २०८२, शुक्रबार १०:१०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढावलाई कारण भाउ बढाइएको निगमको भनाइ छ । निगमले गयराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १७ र डिजेल र मट्टितेलमा प्रतिलिटर २५/२५ का दरले मूल्यवृद्धि गरेको छ ।

यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय रूपैयाँ वृद्धि गरिएको छ । निगमका अनुसार हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर ६ रूपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्यसूचीअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेल प्रतिलिटर २०७ पुगेको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २०१० पुगेको छ । त्यस्तै हवाई इन्धन ९आन्तरिक० तर्फ प्रतिलिटर २५७ कायम गरिएको छ ।

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा नाममा उठाइँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिए पनि घाटा कम नभएपछि मूल्य बढाउनुपरेको निगमको दाबी छ ।

आजको मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड घाटा हुने निगमको दाबी छ ।

Nabintech