डोल्पा : यार्सागुम्बा संकलनका लागि डोल्पाका सबै यार्सापाटन आगामी जेठ १० गतेदेखि एकैसाथ खुला गरिने भएका छन्। मंगलबार दुनैस्थित जिल्ला समन्वय समितिको सभाहलमा बसेको सर्वपक्षीय–सर्वदलीय बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रभित्रका सम्पूर्ण पाटन एक महिनाका लागि खुला गर्ने निर्णय गरेको हो।
यसपटक एउटै क्षेत्रभित्र बारम्बार रसिद काट्नुपर्ने व्यवस्था हटाइएको छ। अब निकुञ्ज क्षेत्रभित्र कुनै एक मध्यवर्ती उपभोक्ता समितिले काटेको रसिदले निकुञ्जभित्रका सबै पाटनमा जान पाइनेछ भने वन क्षेत्रभित्र सामुदायिक वन समितिले काटेको रसिदले सबै वन पाटनमा प्रवेश गर्न सकिनेछ। तर निकुञ्ज र वन क्षेत्रबीच भने छुट्टाछुट्टै रसिद अनिवार्य हुने निर्णय गरिएको छ।
जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले दोहोरो रसिद प्रणाली अन्त्य गरिएको जानकारी दिए। उनका अनुसार पाटन खुल्नुअघि र संकलन अवधिभर सुरक्षा निकायसहित संयुक्त अनुगमन गरिनेछ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख विज्ञान सेनले यस वर्ष सबै पाटन एक महिनाका लागि खुला गर्ने सहमति भएको बताए।
निकुञ्जले स्थानीयका लागि ५ सय, डोल्पालीका लागि २ हजार र बाहिरी जिल्लाका संकलकका लागि ३ हजार रुपैयाँ शुल्क तोकेको छ। जेठ ५, ६ र ७ गतेभित्र रसिद काटिसक्नुपर्ने व्यवस्था गरिएको छ।
बैठकले १६ वर्षमुनिका बालबालिकालाई पाटन प्रवेशमा रोक लगाउने निर्णय समेत गरेको छ। आवश्यकताअनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग परिचालन गरिने जनाइएको छ।
बैठकमा निकुञ्ज, डिभिजन वन कार्यालय, विभिन्न समिति, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।














