५ आश्विन २०८३, सोमबार
सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालनमा

  • टाइम्स संवाददाता

  • ५ आश्विन २०८३, सोमबार ०६:०९

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्राविधिक समस्याका कारण केही समयदेखि बन्द रहेका अत्याधुनिक लिनियर एक्सिलरेटर ९लिन्याक० र ब्रेकीथेरापी मेसिन सञ्चालनमा आएका छन् ।

गत वैशाख १५–१६ गतेदेखि बन्द रहेका मेसिन सञ्चालनमा आएसँगै अस्पतालबाट रेडियोथेरापी सेवा नियमित रूपमा पुनः सुरु भएको अस्पतालले जनाएको छ । त्यसअघि करिब १६ महिना निरन्तर उक्त सेवा सञ्चालनमा रहेको थियो ।

अस्पतालका सूचना अधिकारी डा। प्रवीणकुमार गुप्ताका अनुसार लिन्याक र ब्रेकीथेरापी मेसिनमा प्राविधिक समस्या आएपछि रेडियोथेरापी सेवा लिन आउने बिरामीलाई केही समय असहज भएको थियो । उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यतामा रहेका बिरामीले असोज ५ गतेदेखि अस्पतालबाटै नियमित रूपमा रेडियोथेरापी सेवा लिन सक्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार क्यान्सर उपचारमा रेडियोथेरापी महत्वपूर्ण उपचार विधि हो । लिनियर एक्सिलरेटरबाट शरीरको क्यान्सर प्रभावित भागमा आवश्यक मात्रामा विकिरण पु¥याएर उपचार गरिन्छ भने ब्रेकीथेरापीमा उपचार आवश्यक पर्ने स्थानको नजिकै विकिरण स्रोत राखेर उपचार गरिन्छ । अस्पतालमा यी दुवै प्रविधि सञ्चालनमा आएपछि पश्चिम नेपालका क्यान्सर बिरामीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

अस्पतालले पश्चिम नेपालसहित आसपासका क्षेत्रका क्यान्सर बिरामीलाई पायक पर्ने स्थानमै गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यअनुसार सेवा विस्तार गर्दै आएको जनाएको छ । अस्पतालमा रेडियोथेरापीका अतिरिक्त किमोथेरापी, क्यान्सर शल्यक्रिया, ब्रेकीथेरापी, सिटी स्क्यान, म्यामोग्राफी, भिडियो एक्स–रेलगायतका सेवा उपलब्ध छन् ।

अस्पतालमा गम्भीर बिरामीका लागि अत्याधुनिक सघन उपचार कक्ष ९आईसीयू०, निरन्तर निगरानी तथा भेन्टिलेटर सुविधा पनि रहेको छ । आकस्मिक बिरामीका लागि २४ सै घण्टा इमर्जेन्सी सेवा, शल्यक्रिया, डे केयर, रक्तसञ्चार, इसिजी तथा इकोलगायतका सेवा सञ्चालनमा छन् । त्यसैगरी २४ सै घण्टा फार्मेसी, प्रयोगशाला, एक्स–रे तथा एम्बुलेन्स सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल २०६२ मङ्सिर २७ गते प्रखर परोपकार मिशन नेपालको स्थापना भएपछि २०६४ वैशाख १७ गते महामण्डलेश्वर प्रखर महाराजबाट अस्पताल भवनको शिलान्यास भएको थियो । सुरुमा नेपाल क्यान्सर अस्पतालका रूपमा अघि बढाइएको अस्पताललाई २०७३ फागुन १५ गते गठन आदेशमार्फत नाम परिवर्तन गरी सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नामकरण गरिएको हो ।

२०७४ असार ११ गते तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवबाट अस्पतालको बहिरङ्ग ९ओपीडी० सेवा उद्घाटन भएपछि औपचारिक रूपमा स्वास्थ्य सेवा सुरु भएको थियो । अस्पतालले २०७७ मङ्सिर ५ गतेदेखि आफ्नै अपरेसन थिएटरबाट शल्यक्रिया सेवा पनि सुरु गरेको हो ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सर बिरामीलाई लक्षित गरी सञ्चालनमा रहेको अस्पताल पश्चिम नेपालमै सरकारी क्षेत्रबाट सञ्चालित प्रमुख क्यान्सर उपचार केन्द्रका रूपमा विकास भइरहेको छ । रेडियोथेरापीका अत्याधुनिक उपकरण पुनः सञ्चालनमा आएपछि क्यान्सर उपचारका लागि आउने बिरामीलाई थप सहज हुने अपेक्षा गरिएको सूचना अधिकारी डा। गुप्ताले बताउनुभयो ।

Nabintech