कोहलपुर – कोहलपुर–११ रेडक्रस मार्गमा रहेको होटल म्याक्स प्रा.लि. दुई वर्षका लागि भाडामा दिइएको खुलेको छ । होटलका सञ्चालक मनोज केसी र जाकिर अली जोलाहाबीच भएको बहाल सम्झौताअनुसार होटल मासिक ९ लाख ५० हजार रुपैयाँ भाडामा सञ्चालनका लागि दिइएको हो ।
सम्झौतामा होटलको बहाल अवधि २०८३ जेठ १६ गतेदेखि २०८५ जेठ १५ गतेसम्म दुई वर्ष कायम रहने उल्लेख छ । साथै, प्रत्येक ६/६ महिनामा बहाल रकममा १० प्रतिशत वृद्धि हुने व्यवस्था गरिएको छ ।
सम्झौताअनुसार दोस्रो पक्षले होटल सञ्चालनका क्रममा ४० लाख रुपैयाँ धरौटी बुझाएको उल्लेख छ । होटल छाड्ने समयमा बहाल बक्यौता, क्षति, मर्मत खर्चलगायत कट्टा गरी बाँकी धरौटी रकम फिर्ता गर्नुपर्ने व्यवस्था छ ।
सम्झौताको अर्को महत्वपूर्ण बुँदामा होटल सञ्चालनका क्रममा प्रचलित कानुनले प्रतिबन्ध गरेका कुनै पनि अवैध कारोबार वा व्यवसाय गर्न/गराउन नपाइने उल्लेख गरिएको छ । त्यस्तो कार्य भएमा त्यसको सम्पूर्ण जिम्मेवारी दोस्रो पक्षले लिनुपर्ने सम्झौतामा स्पष्ट पारिएको छ ।
त्यस्तै, विद्युत्, पानी, इन्टरनेट, फोनलगायत होटलबाट तिर्नुपर्ने सम्पूर्ण महसुल तथा कर दस्तुर दोस्रो पक्षले नै बुझाउनुपर्ने व्यवस्था छ । होटलभित्रको सामान्य मर्मतसम्भार पनि बहालवालाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौतामा होटल वा यसको कुनै भाग तेस्रो पक्षलाई उपबहालमा दिन पहिलो पक्षको लिखित सहमति आवश्यक पर्ने तथा होटलमा हुने क्षति, आगलागी, चोरी वा दुर्घटनाको जिम्मेवारीसमेत सम्झौताका सर्तअनुसार निर्धारण हुने उल्लेख छ ।
मङगलबार राति प्रहरीले होटलमा अनलाइन बेटिङ भइरहेको सूचनाका आधारमा छापा मारेर ४२ जनालाई नियन्त्रणमा लिएको थियो ।










