२४ आश्विन २०८३, शनिबार
हावाहुरी र वर्षाले फूलखेतीमा क्षति

  • टाइम्स संवाददाता

  • २३ आश्विन २०८३, शुक्रबार १५:२३

कोहलपुर  : अविरल वर्षा र तीव्र हावाहुरीका कारण बाँकेको कोहलपुर नगरपालिका–१३, नयाँबस्ती स्थित थापा कृषि तथा नर्सरी फर्ममा १४ कठ्ठामा लगाइएको सयपत्री फूलखेतीमा ठूलो क्षति पुगेको छ। फार्मको कुल १४ कठ्ठा मध्ये करिब ९ कठ्ठा क्षेत्रफलकाे सयपत्री फूलखेतीमा भएको क्षतिबाट करिब २ लाख ८२ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको किसानले अनुमान गरेका छन्। गत वर्ष यही फार्मबाट सयपत्री फूल बिक्री गरी करिब ६ लाख १२ हजार रुपैयाँ आम्दानी भएको थियो।

क्षतिको अवस्थाबारे जानकारी लिन वडा नं १३ का अध्यक्ष श्री डम्बर बहादुर खड्का तथा नगरपालिकाको कृषि शाखाका अधिकारीद्वय श्री प्रताप बोहरा, श्री यज्ञ बहादुर रोकाय, सम्वर्धन परियोजनाका कृषि तथा उद्यम विकास संयोजक श्री पप्पु यादव, नीति पैरवी अधिकृत श्री जयन जोशी लगायतको सहभागितामा फर्मको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा प्रतिकूल मौसमका कारण फूलखेतीमा गम्भीर क्षति पुगेको पाइएको थियो। व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानका लागि यो क्षति उत्पादनमा भएको नोक्सानी मात्र नभई आगामी खेतीका लागि आवश्यक लगानी जुटाउने चुनौती समेत बनेको छ।

किसानले जग्गा तयारी, बिरुवा, मल, श्रम तथा अन्य कृषि सामग्रीमा लगानी गरेपछि उत्पादन बिक्रीबाट आम्दानी गर्ने अपेक्षा गरेका हुन्छन्। तर, फूल फुल्ने र बिक्री गर्ने समयमा हावाहुरी तथा वर्षाले बालीमा क्षति पुर्‍याउँदा उनीहरूको लगानी जोखिममा पर्छ। फूलजस्ता छिटो बिक्री गर्नुपर्ने कृषि उपजमा क्षति पुगेपछि उत्पादनको व्यावसायिक मूल्य घट्ने वा पूर्ण रूपमा नष्ट हुने जोखिम समेत रहन्छ। यस्तो अवस्थामा किसानले तत्काल आर्थिक क्षति बेहोर्नुका साथै आगामी उत्पादन चक्रका लागि आवश्यक स्रोत जुटाउन पनि कठिनाइ भोग्न सक्छन्।

थापा कृषि फार्ममा भएको क्षतिले नेपालमा व्यावसायिक फूलखेती गर्ने किसानले प्राकृतिक विपद्का समयमा भोग्नुपर्ने आर्थिक जोखिम र उपलब्ध संरक्षण संयन्त्रको प्रभावकारिताबारे प्रश्न उठाएको छ। कृषि बीमाको व्यवस्था भए पनि फूलखेतीकाे बीमा सम्बन्धी नीतिको अभावका कारण सबै किसानले आफूले उत्पादन गर्ने बाली अनुसार उपयुक्त बीमा सेवा सहज रूपमा प्राप्त गर्न सकेका छन् कि छैनन् भन्ने विषय महत्त्वपूर्ण बनेको छ।

नेपालमा कृषि बीमासम्बन्धी व्यवस्था विद्यमान छ र फूलखेती पनि कृषि बीमाको दायरामा पर्न सक्ने व्यवस्था रहेको छ। यद्यपि, निश्चित फूलको प्रजाति, खेतीको क्षेत्र, बीमालेखका सर्त, जोखिमको प्रकृति तथा स्थानीय क्षेत्रमा बीमा सेवा उपलब्धताको अवस्था फरक छ। थापा कृषि फर्मका श्री जय बहादुर बस्नेतले भने आफ्नो फूलखेतीमा भएको क्षतिबाट पुनःस्थापित हुन पर्याप्त बीमा सुविधा उपलब्ध नभएको बताएका छन्।

यस घटनाले फूलखेतीका लागि उपयुक्त बीमा योजनाको उपलब्धता, किसानको पहुँच, बीमा प्रक्रियाबारे जानकारी तथा क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ। विशेषगरी, हावाहुरी, असिना र अतिवृष्टिजस्ता जोखिमबाट फूलखेतीमा हुने क्षतिलाई सम्बोधन गर्ने बीमा सुविधाबारे किसानलाई स्पष्ट जानकारी दिन आवश्यक देखिन्छ।

क्षतिबाट प्रभावित किसानलाई सम्भावित सहयोग उपलब्ध गराउने उद्देश्यले फर्मका किसानहरूले स्थानीय सरकारसँग समन्वय गर्दै विपद् राहत कोषमार्फत सहयोगको सम्भावना खोजिरहेको छ।

यस अवस्थाले प्राकृतिक विपद्बाट कृषि उत्पादनमा क्षति बेहोरेका किसानका लागि राहत तथा पुनःस्थापनाको प्रक्रिया सहज नरहेको विषयलाई उजागर गरेको छ। विपद्का कारण बालीमा क्षति पुगेका किसानले कहाँ निवेदन दिने, क्षतिको मूल्याङ्कन कसरी हुने, कुन निकायबाट कस्तो सहयोग प्राप्त हुन सक्ने र आवश्यक कागजात के–के हुन् भन्ने विषयमा स्पष्ट जानकारी पाउनु आवश्यक छ।

विपद् व्यवस्थापन सम्बन्धी कानुनी तथा संस्थागत व्यवस्था भए पनि प्रत्येक कृषि क्षतिमा स्वतः क्षतिपूर्ति प्राप्त हुने सुनिश्चितता हुँदैन। त्यसैले स्थानीय, प्रदेश र संघीय सरकारका सम्बन्धित निकायबीच समन्वय गरी वास्तविक क्षतिको मूल्याङ्कन, राहतको उपलब्धता र किसानको पुनःस्थापनाका लागि स्पष्ट कार्यविधि आवश्यक देखिन्छ ।

नेपालको कृषि क्षेत्र बाढी, खडेरी, अतिवृष्टि, हावाहुरी तथा अन्य जलवायुजन्य जोखिमबाट प्रभावित हुँदै आएको छ। यस्ता घटनाले कृषि उत्पादन, किसानको आम्दानी र ग्रामीण जीविकोपार्जनमा प्रत्यक्ष असर पार्छन्। विश्व बैंक लगायतका संस्थाहरूले पनि जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिमले नेपालको कृषि उत्पादकत्व र ग्रामीण समुदायको जीविकोपार्जनमा चुनौती थप्न सक्ने औँल्याएका छन्।

यस्तो अवस्थामा कृषि उत्पादनमा आधारित किसानको लगानी सुरक्षित गर्न कृषि बीमाको प्रभावकारी कार्यान्वयन, विपद्पछिको राहत तथा पुनःस्थापना प्रणालीको सुधार र जलवायुमैत्री खेती प्रविधिको प्रवर्द्धन आवश्यक छ। फूलखेतीजस्ता व्यावसायिक कृषि उद्यमका लागि उत्पादनको प्रकृति र स्थानीय जोखिमअनुसार उपयुक्त बीमा योजना विकास गर्नुका साथै किसानलाई बीमा प्रक्रियाबारे जानकारी दिनु पनि उत्तिकै महत्त्वपूर्ण छ।

किसानले गरेको लगानी सुरक्षित गर्न सहज, किफायती र प्रभावकारी कृषि बीमा तथा स्पष्ट राहत संयन्त्र सुनिश्चित गर्नु आजको आवश्यकता हो। प्राकृतिक विपद्बाट प्रभावित किसानलाई समयमै सहयोग र पुनःस्थापनाको अवसर उपलब्ध गराउन सकेमा नेपालको व्यावसायिक कृषि क्षेत्रलाई थप सुरक्षित, दिगो र आकर्षक बनाउन सहयोग पुग्नेछ

Nabintech