नेपाल पूर्व प्रहरी संगठन कोहलपुर इकाईको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ। सभाले संगठनको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।
नवगठित समितिको अध्यक्षमा पूर्व प्रहरी वरिष्ठ नायव निरीक्षक चन्द्रशेखर वली क्षेत्री निर्विरोध निर्वाचित हुनुभएको छ, भने उपाध्यक्षमा पूर्व प्रहरी वरिष्ठ नायव निरीक्षक ढुण्डीराज अधिकारी निर्वाचित हुनुभएको छ। नयाँ कार्यसमितिमा अध्यक्ष र उपाध्यक्षसहित ११ जनाको कार्य समिती रहेको छ ।
राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरी हाल कानुन संकायमा दोस्रो वर्षमा अध्ययनरत वली क्षेत्रीले संगठनको हित र समाजसेवा आफ्नो प्राथमिकताका विषय रहेको बताउनुभयो। उहाँले सोही उद्देश्यअनुसार संगठनलाई अघि बढाउँदै समाजसेवाका क्षेत्रमा समेत सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नयाँ कार्यसमिति निर्विरोध चयन भएसँगै संगठनका गतिविधिलाई थप व्यवस्थित बनाउँदै पूर्व प्रहरीहरूको हकहित, एकता र सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।








