२५ आश्विन २०८३, आईतवार
बाँकेको डुडुवाबाट ३२ किलो गाँजासहित एक जना पक्राउ

  • टाइम्स संवाददाता

  • २५ आश्विन २०८३, आईतवार ०६:५३

बाँकेको डुडुवा गाउँपालिका–१ पिप्रहवाबाट प्रहरीले ३२ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरी चौकी खडैचाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा पिप्रहवामा साइकलमा सवार स्थानीय ४० वर्षीय राम नरेश कुर्मीलाई चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा कुर्मीले चलाएको साइकलको पछाडि स्याउला तथा घाँसभित्र लुकाइछिपाइ राखेको गाँजाजस्तो देखिने पदार्थ १० किलो २२० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताउनुभयो ।

उहाँले त्यसपछि प्रहरीले कुर्मीलाई साथमा लिएर उनको घरकोठा तथा खेतबारीमा खानतलासी गर्दा खेतमा थुप्रो पारेर लुकाएर राखिएको थप २२ किलो ३०० ग्राम गाँजा बरामद गरेको जनाउनुभयो । दुवै स्थानबाट गरी कुल ३२ किलो ५२० ग्राम गाँजा बरामद भएको सूचना अधिकारी राठौरले बताउनुभयो ।

प्रहरीले गाँजासहित एक थान किप्याड मोबाइल र एक थान साइकलसमेत बरामद गरेको छ ।

पक्राउ परेका कुर्मीमाथि लागूऔषधसम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकले जनाएको छ । गत केही समययता आएर प्रहरीले लागुऔषध बिक्री, ओसारपसार र सेवनविरुद्ध कडा अभियान सञ्चालन गर्दै आएकोले दैनिकजसो लागुऔषधका कारोबारीहरु पक्राउ पर्दै आएका छन् ।

Nabintech