३० कार्तिक २०८३, आईतवार
कोहलपुरमा युवा तथा बालबालिका केन्द्रित विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • टाइम्स संवाददाता

  • २६ आश्विन २०८३, सोमबार १४:५४

कोहलपुर-  बाँकेको कोहलपुर नगरपालिकाको सभाहलमा सोमबार युवा तथा बालबालिका केन्द्रित विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनसम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विपद्सम्बन्धी जानकारी प्रदान गर्नुका साथै विपद्का समयमा बालबालिकाको भूमिका, उनीहरूको सुरक्षा तथा विपद् व्यवस्थापनमा युवा र बालबालिकाको सहभागिताबारे अभिमुखीकरण गरिएको थियो।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका विपद् व्यवस्थापन संयोजक रुपन ज्ञवाली, कोहलपुर नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख तारा भण्डारी, नगरपालिकाको खेलकुद शाखाबाट बुद्धि बहादुर थापा तथा युनिसेफ नेपालका प्रतिनिधि राजु अधिकारी, रेडक्रस कोहलपुर शाखाका प्रमुख युबराज पोखरेल उपस्थिति रहेको थियो।

कोहलपुर क्षेत्रमा रहेका युवा सञ्जाल तथा बाल क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा विपद्का समयमा अपनाउनुपर्ने सावधानी, बालबालिकाको सुरक्षा र विपद् जोखिम न्यूनीकरणमा युवा तथा बालबालिकाको भूमिकाबारे जानकारी गराइएको थियो।

कार्यक्रमले युवा तथा बालबालिकामा विपद् व्यवस्थापन र जलवायु परिवर्तनसम्बन्धी ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्नुका साथै विपद् जोखिम न्यूनीकरणका कार्यमा उनीहरूको सक्रिय सहभागिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Nabintech