थारू समुदायमा दसैँ मनाउने आफ्नै मौलिक परम्परा छ । अष्टमीका दिन ढिक्री पूजा, त्यसपछि पित्तर पूजा र गउँल्या टीकासँगै थारू बस्तीमा दसैँको रौनक थपिन्छ । परम्परागत विधि, मादलको ताल र सांस्कृतिक नाचगानसँगै थारू समुदायले आज अष्टमीका दिन ढिक्री पूजा गरेका छन् ।
चामलको पिठोबाट गोलो, लाम्चो र विभिन्न आकारका ढिक्री बनाएर साँझपख घरका देवतालाई चढाउँदै ढिक्री पूजा गर्ने चलन छ । मादलको तालमा परम्परागत गीत गाउँदै गरिने यो पूजाले अन्नप्रति सम्मान प्रकट गर्नुका साथै पुर्खादेखि चलिआएको परम्परा र संस्कृतिलाई निरन्तरता दिने थारू अगुवाहरू बताउँछन् ।
थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीका अनुसार अन्नको सम्मान र समृद्धिको कामनासहित थारू समुदायले परम्परादेखि ढिक्री पूजा गर्दै आएको हो । ढिक्री पूजाको अघिल्लो दिन पैनस्टोपी, ढक्या लगायत पूजामा प्रयोग हुने सामग्री खोला, बाइमा धुने चलन छ । पूजाका लागि महिला र पुरुषले आ–आफ्नो परम्परागत जिम्मेवारीअनुसार तयारी गर्छन् ।

महिलाले दिनभरि ढिक्री बनाउँछन् भने पुरुषले व्रत बसेर साँझ पूजाको तयारी गर्छन् । साँझ परेपछि मादलको ताल र परम्परागत गीतका साथ घरको डिह्ररा कोन्टिमा रहेका देवतालाई सबैभन्दा पहिले ढिक्री चढाइन्छ । त्यसपछि अन्य देवतालाई ढिक्री चढाएर पूजा गरिन्छ ।
परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर पूजाआजा गर्ने, रमाइलो गर्ने र प्रसादका रूपमा ढिक्री खाने परम्परा रहेको चौधरीले बताए । ढिक्री पूजापछि थारू समुदायमा पित्तर पूजा र दसैँका अन्य सांस्कृतिक विधि सुरु हुन्छन् । भोलिपल्ट पितृको सम्झनामा पूजा गर्ने र चलनअनुसार कुखुरा, कुभिन्डोको बलि दिने संस्कार रहेको उनले बताए।
घरको पूजापाठ सकेपछि गाउँका गरढुर्या, मटाँवा तथा अन्य अगुवाहरू भुइँयारथानमा भेला भएर बर्कीमार गीत गाउने परम्परा रहेको थारू अगुवा एवं पत्रकार सन्तोष दहितले बताए । उनका अनुसार गोल्द्रामा मड ९रक्सी०, जमरा र बाबरी लिएर भुइँयारथानमा भेलाभएका गाउँलेले बर्कीमार गीत गाउँछन् ।
एकअर्काको कानमा बाबरी र जमरा सिउरिएर दसैँको शुभकामना आदानप्रदान गरिन्छ । बर्कीमार गीतले थारू समुदायको मौलिक संस्कृतिसंगै लोकजीवन झल्किन्छ । भुइँयारथानमा पूजा तथा सांस्कृतिक विधि सकेपछि गाउँलेहरू मटाँवाको घरमा पुगेर गउँल्या टीका ९सेतो टीका० लगाउने गरेको उनले बताए ।
उनले भने, ‘गउँल्या टीका थारू समुदायको दसैँ मनाउने विशिष्ट सांस्कृतिक पहिचान हो, गउँल्या टीका लगाएसँगै थारू बस्तीमा दसैँको उत्सव अझ उल्लासमय बन्छ ।’
उनका अनुसार गउँल्या टीकाको दिनदेखि तीन दिनसम्म मटाँवाको घरमा दिउँसै सख्या र पैयाँ नाच नाच्ने परम्परा छ । अन्यदिनमा रातिको समयमा नाचिने सख्या नाच गउँल्या टीकापछि भने दिउँसै नाचिन्छ । मादलको तालमा सामूहिक रूपमा नाचिने सख्या र पैयाँले गाउँको वातावरण नै उत्सवमय बनाउँछ ।




















