बाँकेको नेपालगन्जमा सार्वजनिक सवारी चालक तथा सहचालकको लापसे परीक्षण गर्दा ११ जनामा पोजेटिभ देखिएको छ।
नेपालगन्ज उपमहानगरपालिका–२० राँझा चोकस्थित नेपालगन्ज–कोहलपुर सडकखण्डमा सोमबार गरिएको परीक्षणका क्रममा ११ जनामा लागूऔषध सेवन गरेको पुष्टि भएको हो।
सडक दुर्घटना न्यूनीकरण गरी सुरक्षित सडक यात्रालाई प्रवर्द्धन गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त आयोजनामा उक्त परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो।
लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्ज र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रममा २५ वटा सार्वजनिक सवारीसाधनका चालक तथा सहचालकको लागूऔषध परीक्षण किटमार्फत प्राविधिक टोलीले परीक्षण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख कनक बहादुर शाहीले जानकारी दिनुभयो ।
परीक्षणका क्रममा ११ जनामा लागूऔषध सेवन गरेको नतिजा पोजेटिभ देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा राखिएको छ।
सवारी चालकले लागूऔषध सेवन गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरीले दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि यस्ता परीक्षणलाई प्राथमिकता दिएको छ।





















