२६ कार्तिक २०८३, बुधबार
गोरखा युनाइटेड पब्लिक स्कुलका स्काउट विद्यार्थीको सक्रियतामा कोहलपुरमा सरसफाइ

  • टाइम्स संवाददाता

  • २० कार्तिक २०८३, बिहीबार १९:२०

कोहलपुर : कोहलपुरमा गोरखा युनाइटेड पब्लिक स्कुलमा स्काउटमा आबद्ध विद्यार्थीहरूले नगर क्षेत्रका विभिन्न स्थानमा सरसफाइ गरेका छन्। सामाजिक उत्तरदायित्व र वातावरणीय स्वच्छताको सन्देश प्रवाह गर्ने उद्देश्यले विद्यार्थीहरूले सरसफाइ अभियान सञ्चालन गरेका हुन्।

स्काउट शिक्षक गोपालप्रसाद अधिकारी र अमिता थापाको सहभागिता तथा सहजीकरणमा विद्यार्थीहरूले नगर क्षेत्रका सार्वजनिक स्थान र सडक आसपास सरसफाइ गरेका थिए। उनीहरूले जथाभावी फालिएका प्लास्टिक, कागज तथा अन्य फोहोर संकलन गरी व्यवस्थापन गरेका थिए।

स्काउट गतिविधिले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, सामूहिक भावना र समाजसेवाप्रतिको जिम्मेवारी विकास गर्न सहयोग पुग्ने स्काउट शिक्षक गोपालप्रसाद अधिकारीले बताए। विद्यालय तहदेखि नै सामाजिक काममा विद्यार्थीलाई सहभागी गराउँदा व्यवहारिक ज्ञान र नागरिक दायित्वबोध बढ्ने उनको भनाइ छ।

सरसफाइ अभियानमा सहभागी विद्यार्थी तुलसी थापाले आफ्नो नगर र सार्वजनिक स्थल सफा राख्नु सबै नागरिकको जिम्मेवारी भएको बताइन्। विद्यार्थीहरूबाट सुरु भएको यस्तो अभियानले समुदायमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ छ।

शिक्षक अमिता थापाले विद्यार्थीको पढाइसँगै सामाजिक सेवा, वातावरण संरक्षण र सरसफाइसम्बन्धी व्यवहारिक गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताइन्।

सार्वजनिक स्थानमा फोहोर फाल्ने प्रवृत्ति नियन्त्रण गर्न नागरिकको व्यवहारमा परिवर्तन आवश्यक छ। विद्यालय तथा स्काउटमार्फत सञ्चालन हुने यस्ता अभियानले बालबालिका र युवामा वातावरण संरक्षणप्रतिको चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Nabintech