काठमाडौँ – काठमान्डू गोर्खाजले नेपाल प्रिमियर लिग ९एनपीएल० मा लगातार चौथो जित निकालेको छ। सोमबार भएको खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमान्डूले आफ्नो अपराजित लय कायम राखेको हो ।
काठमान्डूले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो । प्रतिस्पर्धात्मक खेलमा अन्तिम ओभरसम्म जितको सम्भावना कायम राखे पनि चितवन लक्ष्यसम्म पुग्न सकेन ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डूले आठ विकेटको क्षतिमा १८० रन बनाएको थियो । उसका लागि राशिद खानले आक्रामक अर्धशतकीय पारी खेले। उनले ३० बलमा दुई चौका र चार छक्कासहित ५२ रन बनाए । जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो ।
सहन आराचिगेले २० बलमा तीन चौका र दुई छक्कासहित ३३ रन जोड्दा विलियम बोसिस्टोले २२ बलमा २७ रन बनाए। अन्तिमतिर करण केसीले सात बलमा तीन छक्कासहित २० रन बनाएर टोलीको स्कोर उकासे । सन्तोष यादवले दुई बलमा एक छक्कासहित अविजित आठ रन जोडे ।
चितवनका लागि रिजोन ढकालले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १४ रन खर्चेर तीन विकेट लिए । सिकन्दर राजाले १९ रन र कमलसिंह ऐरीले २५ रन खर्चेर समान दुई विकेट हात पारे ।
१८१ रनको लक्ष्य पछ्याएको चितवनका लागि रवि बोपाराले सर्वाधिक ५५ रन बनाए । उनले ३५ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । डान मुस्लीले २९, किमल मिश्रले २८ र अर्जुन साउदले २३ रनको योगदान दिए । कुशल मल्लले १३ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।
काठमान्डूका लागि सहन आराचिगेले दुई विकेट लिए । जहान्दाद खान, करण केसी, सन्तोष यादव र डेब्यु खेलाडी गणेश गौतमले समान एक विकेट हात पारे ।
यस जितसँगै पाँच खेलबाट आठ अंक जोडेको काठमान्डू अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ । लगातारको जितले काठमान्डूलाई प्लेअफ यात्रामा बलियो अवस्थामा पुर्याएको छ । पाँच खेलबाट पाँच अंक रहेको चितवन भने अंकतालिकाको चौथो स्थानमा छ ।
काठमान्डूले ब्याटिङमा बनाएको बलियो योगफल र दबाबपूर्ण अवस्थामा गरेको बलिङको मद्दतले जित निकालेको हो । चितवनले पनि लक्ष्य पछ्याउने क्रममा चुनौती प्रस्तुत गरे पनि आवश्यक रन गति कायम राख्न नसक्दा खेल गुमायो ।





















