३० कार्तिक २०८३, आईतवार
एनपीएलको प्लेअफ समीकरण पूरा, लुम्बिनीसँग हारेपछि विराटनगर बाहिरियो

  • टाइम्स संवाददाता

  • ३० कार्तिक २०८३, आईतवार ०६:०९

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा विराटनगर किंग्स प्लेअफ दौडबाट बाहिरिएको छ। आइतबार सम्पन्न खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि विराटनगरको यात्रा समूह चरणमै समाप्त भएको हो।

यससँगै प्रतियोगिताको प्लेअफमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन्।

यता पोखरा एभेन्जर्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र विराटनगर किंग्स भने समूह चरणबाटै बाहिरिएका छन्। विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९।५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीको जितमा ओपनर डा’र्सी शर्ट र आसिफ शेखले समान ४५ रन बनाए।

त्यस्तै, अलि शेखले २७ तथा सन्दीप जोराले अविजित २५ रनको योगदान दिए। ११ बल खेलेका जोराले ३ छक्का र १ चौका प्रहार गरे। अन्तिममा रुवेन ट्रम्पलमानले छक्का प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए।

विराटनगरका लागि अपराजित पौडेलले दुई विकेट लिए भने चरिथ असलंका र रुपेश सिंहले समान एक विकेट हात पारे। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो।

विराटनगरका लागि चरिथ असलंकाले अर्धशतकीय पारी खेले। उनले ४३ बलमा ६ छक्का र १ चौकासहित ६४ रन बनाए। शुभम रन्जानेले अविजित ३१ रन जोड्दा इमरान शेखले २४ र लोकेश बमले १५ रनको योगदान दिए। शेख रिटायर्ड हर्ट भएका थिए।

लुम्बिनीका लागि किशोर महतोले दुई विकेट लिए भने अभिशेष गौतम र रुवेन ट्रम्पलमानले समान एक विकेट हात पारे।

Nabintech