१ मंसिर २०८३, सोमबार
कोहलपुरमा ७० लाख लगानीमा सञ्चालनमा आयो खेल अड्डा तथा चिया चौतारी

  • टाइम्स संवाददाता

  • १ मंसिर २०८३, सोमबार ०७:०२

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित पिपल चौतारानजिकै छ जना युवाको संयुक्त लगानीमा फुटसल तथा चिया चौतारी सञ्चालनमा आएको छ।

करिब ७० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त खेल अड्डाको आइतबार एक कार्यक्रम आयोजना गरी औपचारिक उद्घाटन गरिएको हो।

उक्त व्यवसायमा अभय खड्का क्षेत्री, राजु सुवेदी, मनोज ओली, विशेष उप्रेती, सन्दीप खरेल र जीवन जिसीको संयुक्त लगानी रहेको छ।

युवालाई खेलकुदसँग जोड्नुका साथै मनोरञ्जन र सामाजिक भेटघाटको वातावरण सिर्जना गर्ने उद्देश्यले फुटसल तथा चिया चौतारी सञ्चालनमा ल्याइएको हो।

विदेशमा रोजगारीको अवसर खोज्नुभन्दा आफ्नै ठाउँमा सम्भावना पहिचान गरी लगानी र उद्यमशीलता गर्न सकिन्छ भन्ने सोचका साथ युवाहरूले यो व्यवसाय सुरु गरेका हुन्।

स्थानीयस्तरमा युवाको संयुक्त लगानीमा सञ्चालनमा आएको यस व्यवसायले खेलकुद प्रवर्द्धन, मनोरञ्जन तथा स्वरोजगारको सम्भावनालाई समेत उजागर गरेको छ।

आफ्नै ठाउँमा सम्भावना खोज्दै उद्यमशीलताको बाटो रोजेका यी छ जना युवाको प्रयासले अन्य युवालाई पनि स्वदेशमै केही गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

Nabintech