१५ चैत्र २०८०, बिहीबार
कर्णाली प्रदेशसभामा आज यस्तो छ कार्यसूची

  • टाइम्स संवाददाता

  • ३ बैशाख २०७८, शुक्रबार ०७:४०

कर्णाली प्रदेशसभाको सातौं अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । संसद सचिवालयका अनुसार शुक्रबार बस्ने बैठकका लागि छ वटा कार्यसूची तय गरिएको छ । बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त संसद आव्हान सम्वन्धीको पत्र पढेर सुनाइने छ ।   त्यसपछि मन्त्रालयहरुको जिम्मेवारी हेरफेरको पत्र प्रस्तुत गरिने छ । तत्कालीन एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएपछि मुख्यमन्त्री महेन्द्र शाहीले ती मन्त्रालयहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।  बैठकमा तेस्रो कार्यसूचीमा धर्मराज रेग्मीको पद खाली भएको जानकारी गराइने उल्लेख छ । तत्कालीन माओवादी केन्द्रबाट दैलेख क्षेत्र नं. १ ‘क’बाट निर्वाचित सांसद रेग्मी एमालेमा प्रवेश गरेपछि सम्वन्धित दलले कारबाही गरेको छ । चौथो कार्यसूचीमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका एक–एक जना माननीयहरुले बोल्ने कार्यक्रम छ ।   संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरुले बोलेपछि एक घण्टाका लागि संसद बैठक स्थगित हुनेछ । त्यसपछि मुख्यमन्त्री शाहीले प्रदेश लोकसेवा आयोग सम्वन्धिको संशोधन र प्रशासनिक कार्यविधि संशोधन सम्वन्धीका विधेयक प्रस्तुत गर्नेछन् । उक्त विधेयकहरु पारित भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ । ४० सदस्यीय कर्णाली प्रदेशसभाका सदस्य मध्ये माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि ३९ सदस्यीय बनेको छ । प्रदेशसभामा बहुमत पुर्‍याउनका लागि २० जना सांसदको आवश्यकता पर्छ । एमाले एक्लैसँग बहुमतका लागि सभामुखसहित २० जना सांसद छन् । माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एकजना सांसद छन् । एमालेले माओवादी केन्द्रका शाही नेतृत्वको सरकारबाट बाहिरिँदै नयाँ सरकार निर्माणको गृहकार्य थालेको छ । यस्तो अवस्थामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । किन भने एमालेकै केही सांसदहरु फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा उभिने अनुमान छ ।

Nabintech