७ बैशाख २०८१, शुक्रबार
कोरोना सङ्क्रमित युवकको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु

  • टाइम्स संवाददाता

  • ३ बैशाख २०७८, शुक्रबार १६:०६

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका सुर्खेतका एक सङ्क्रमित युवकको शुक्रबार बिहान मृत्यु भएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गुर्भाकोट–१३, सुर्खेत निवासी ३१ वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा शुक्रबार बिहान भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले एक साता अघि मात्र भारतबाट फर्किएका ती युवकको स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर प्रयोशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको बताउनुभयो । कोरोना पुष्टि भएपछि चैत ३१ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दा गर्दै शुक्रवार बिहान ७ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको फोकल पर्सन ओलीले बताउनुभयो । उहाँले अहिलेको संक्रमणबाट युवाहरु बढी प्रभावित भएको र मृत्यु हुनेहरुमा पनि युवाहरु नै धेरै रहेको बताउनुभयो ।

मेडिकल कलेजमा ४५ को परीक्षण गर्दा सबैलाई सङ्क्रमण पुष्टि

नेपालगञ्ज मेडिकल कलेजमा बिहिबार सङ्कलन गरेर गरिएको कोरोना परीक्षणमा ४५ जनाको परीक्षण गर्दा शुक्रबार सबैको रिपोर्ट पोजेटिभ आएको छ । परीक्षण गरिएकोमा शतप्रतिशत सङ्क्रमण पुष्टि भएको यो नै पहिलो घटना भएको जनाउँदै बाँकेका कोरोना फोकल पर्सन ओलीले यसबाट नै समुदायमा सङ्क्रमणको अवस्था बारे आकलन गर्न सकिने बताउनुभयो । परीक्षण गराएकामध्ये सबैमा सङ्क्रमण पुष्टि भएपछि जिल्लाको अवस्था भयावह रहेको जनाउँदै सङ्क्रमण रोक्न विभिन्न कदम उठाइएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

Nabintech