नेकपा एमाले दशौं महाधिवेशन आयोजक केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १९ जनाको स्थायी कमिटी बैठक गठन गरेको एमाले पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । बैठकले नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलको सिफारिस अनुसार चार जना सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ । यसअघि सत्तारुढ नेकपा एमालेले २७ जना सांसदलाई पार्टीहित विपरीत गतिविधि गरेको भन्दै माधवकुमार नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण मागेको थियो । स्पष्टीकरणहरु केही ई–मेल र केही पत्रमार्फत प्राप्त भएको एमाले सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको थियो ।समानान्तर गतिविधि गर्दै आएकाहरुबारे निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई प्रदान गरिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । आज बसेको बैठकले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको खनाल–नेपाल पक्षलाई पनि पार्टीको मूलधारमा आउन आव्हान गरेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।आजको बैठकले कार्यविभाजन लगायत नेकपा एमालेमा भर्खरै प्रवेश गरेका रामबहादुर थापा बादल लगायतका नेताहरुलाई पनि स्थायी कमिटीमा समावेश गरेको छ ।