१५ चैत्र २०८०, बिहीबार
भेरी अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ८० जना स्वास्थ्यकर्मी थपिने

  • टाइम्स संवाददाता

  • १३ बैशाख २०७८, सोमबार १७:४६

नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा जनशक्तिको चरम अभाव भएकोले विशेषज्ञ चिकित्सकसहित ८० जना स्वास्थ्यकर्मी थप्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ । भेरी अस्पतालमा बिरामीको चाप अत्याधिक भएपनि चिकित्सक र स्वास्थ्यकर्मीको सङ्ख्या निकै कम भएकोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालले माग गरे बमोजिम ८० जना जनशक्ति थप्ने निर्णय गरेर सोमवार पठाएको अस्पताल विकास समितिले जनाएको छ । अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपालका तीन वटा प्रदेशका कोरोना सङ्क्रमित बिरामीहरुको उपचार गर्दै आएको भेरी अस्पतालमा उपचार सहज बनाउन मन्त्रालयले तीन महिनाका लागि विशेषज्ञ चिकित्सकसहित ८० जना स्वास्थ्यकर्मी थप्ने अख्तियारीको पत्र सोमवार पठाएको बताउनुभयो । मन्त्रालयले पठाएको पत्रमा अस्पतालबाट तीन महिनाका लागि करार सेवामा जनशक्ति व्यवस्थापन गर्ने माग आएकोले तीन महिनाका लागि १० जना मेडिकल अफिसर, २ जना नर्सिङ अधिकृत, ३ जना एनेस्थेसियोलोजिस्ट, ५ जना ल्याब टेक्निसियन, ४० जना स्टाफ नर्स र २० जना सरसफाइकर्मी गरेर ८० जना थप्ने अख्तियारीको निर्णय गरेर पठाएको जनाइएको छ । अब तत्काल सूचना निकालेर ८० जनाको पदपूर्ति गरिने जनाउँदै समितिका सदस्य श्रेष्ठले यो जनशक्तिले सङ्क्रमित उपचारमा धेरै सहज हुने बताउनुभयो । यसअघि बाँकेका अस्पतालमा जनशक्ति र बेडको अभावले सयौं सङ्क्रमितको उपचारमा समस्या आएको भनी स्वास्थ्य मन्त्रालयमा जानकारी गराएपछि सो मन्त्रालयले प्रमुख विशेषज्ञ डा. महेन्द्र श्रेष्ठ र प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.रोसन न्यौपानेको टोलीलाई अवस्था बुझ्न नेपालगञ्ज पठाएको थियो ।
मन्त्रालयको सो टोलीले यहाँ पुगेर अस्पतालको भ्रमण गर्नुका साथै चिकित्सक, अस्पताल विकास समिति र स्थानीय सरोकारवालालाई भेटेर अवस्था बारे जानकारी लिई तत्काल जनशक्ति चाहिने सिफारिस गरेको थियो । सो टोलीले गरेको सिफारिसका आधारमा तत्काल जनशक्ति र बेड थप्ने निर्णय भएको समितिका सदस्य श्रेष्ठले बताउनुभयो । मन्त्रालयको सो टोलीले सङ्क्रमण एक्कासि फैलनुका कारण र सङ्क्रमण नियन्त्रणका लागि गरिएका उपायहरुको पनि समीक्षा गरेको अस्पतालले जनाएको छ । तत्काल जनशक्ति र शैया थपेर उपचार शुरु गर्ने हो भने कोरोनाका बिरामीको उपचारमा धेरै सहजता आउने अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले बताएका छन् ।

Nabintech