७ बैशाख २०८१, शुक्रबार
केपी ओली नै प्रधानमन्त्री बन्ने निश्चित, जसपा अध्यक्ष महन्थ बालुवाटारमा

  • टाइम्स संवाददाता

  • ३० बैशाख २०७८, बिहीबार १९:१३

कांग्रेस-माओवादी गठबन्धनले बैकल्पिक सरकार गठनको दावी नगर्ने भएपछि अब एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको छ । ओली हटाउने सन्दर्भमा जसपाको महन्थ ठाकुर पक्ष असहमत हुनु र एमालेको माधव नेपाल पक्षले राजीनामा नदिनुले बहुमत नपुगेसँगै कांग्रेस माओवादी गठबन्धन शीतल निवास जाने कुराबाट ब्याक भएको हो । राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत दावी गरेर आउन दिएको समय आज राति नौ बजेबाट सकिदैछ । त्यसअघि नै कांग्रेस बैठकले वैकल्पिक सरकारको दावी नगर्ने निर्णय गरिसकेको छ । यसैबीच जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटारमा छन् । ओली र माधव नेपालबीच वार्ता चलिरहेको बेलै बालुवाटार छिरेका ठाकुर र महतोले प्रधानमन्त्रीसँग नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्दैछन् । कांग्रेसले प्रधानमन्त्री ओली एमालेको १२१ सिट र जसपाको महन्थ ठाकुर पक्षको समर्थन लिएर बहुमतको प्रधानमन्त्री दावी गर्न जाने आशंका गरेको छ । तर बालुवाटार स्रोतले भने ९ बजेको डेडलाइन सकिएपछि अर्को प्रक्रिया शुरु हुने भन्दै ठूलो दलको हैसियतमा वा जसपासहितको बहुमत दावी गर्ने हैसियतमा दुवै अवस्थामा ओलीका लागि सहज रहेको जनाएको छ ।

Nabintech