७ बैशाख २०८१, शुक्रबार
प्रधानमन्त्रीमा ओली र देउवाको दाबी प्रस्तुत, राष्ट्रपतिले दुवैका आधार अध्ययन गर्ने

  • टाइम्स संवाददाता

  • ७ जेष्ठ २०७८, शुक्रबार १७:२२

संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका छन् । राष्ट्रपतिले प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको बहुमतसहित दावी पेश गर्न दिएको समयभित्र ओली र देउवाले आ-आफ्नो बहुमत रहेको भन्दै दाबी पेश गरेका हुन् । साँझ ५ बजेभित्र दाबी पेश गर्न भनिएकोमा ओली साढे ४ बजे नै बहुमत दाबी गरेर शीतल निवासबाट बाहिरिएका थिए भने देउवा पौने पाँच बजे दाबी पेश गरेर बाहिरिएका हुन् । ओलीले नेकपा एमाले र जसपाका १५३ जना सांसदको समर्थन रहेको दाबी गरेका छन् । उनलाई जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पार्टीको समर्थन रहेको लिखित पत्र दिएका छन् । त्यस्तै देउवाले कांग्रेस,माओवादी,जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका माधव नेपाल पक्षको समर्थनमा १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् । दुवै पक्षले बहुमत दावी गरेकाले अब राष्ट्रपतिले दुवैले प्रस्तुत गरेको आधार अध्ययन गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले नेपाल प्रेसलाई जानकारी दिए । ढकालका अनुसार अध्ययनका लागि केही समय लाग्नेछ ।

Nabintech