८ बैशाख २०८१, शनिबार
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनको गृहकार्य सुरु

  • टाइम्स संवाददाता

  • १७ जेष्ठ २०७८, सोमबार १९:१८

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८-७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरुगरेको छ । बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु समयमा सुरुगरी छिटो परिणाम ल्याउनेगरी अर्थ मन्त्रालयले बजेट प्रस्तुत भएको दुई दिनपछि नै बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु कार्यन्वयनका लागि समयतालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिनु भएको छ । सोमबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पौडेलले सो निर्देश गर्नुभएको उहाँको प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिनुभयो । बजेट कार्यान्वयनका लागि हामी गम्भीर छौं । बजेटका योजना र कार्यक्रमहरु सुरुदेखि सम्पन्न गर्ने समयसम्मको स्पष्ट समयतालिकासहित अघि बढ्नुहोस्, अर्थमन्त्री पौडेलले भन्नुभयो– “बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सहयोग, समन्वय र सहजीकरण गर्छ ।” अर्थमन्त्री पौडेलले बजेटमा समावेश भएका कार्यक्रमहरुको समयमा सुरु गर्न कार्यविधि र निर्देशिका समयमा तयार पार्न तथा नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै कार्यान्वयन प्रक्रिया अघि बढाउनेगरी तयारी गर्न निर्देशन दिनुभयो । अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कार्यान्वयन र त्यसबाट आउने परिणाममा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै स्रोतसम्बन्धी व्यवस्था अर्थ मन्त्रालयले गर्ने बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ तथा सचिवहरुको छलफलमा उपस्थिति रहेको प्रेस सल्लाहकार केसीले जानकारी दिनुभयो ।

यसैगरी नियमितरुपमा अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय तथा निकायहरुसँग बजेट कार्यान्वयन सम्बन्धमा छलफल गरिने योजना तय भएको केसीले बताउनभयो । दुई दिन अघि शनिबार अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेट सार्वजनिक गर्नुभएको थियो ।

Nabintech