१५ चैत्र २०८०, बिहीबार
नेपालमाथि जोर्डनको सहज जित

  • टाइम्स संवाददाता

  • २५ जेष्ठ २०७८, मंगलवार ०७:१९

विश्वकप तथा एसियन कप छनोटको सातौं खेलमा जोर्डनले नेपाली राष्ट्रिय फुटबल टोलीलाई पराजित गरेको छ । एकपक्षीय खेलमा जोर्डन ३-० को जित दर्ता गर्दै समूहको दोस्रो स्थानमा उक्लियो ।

यस जितसँगै जोर्डनको ६ खेलमा १३ अंक पुगेको छ भने कुवेत समान खेलमा १० अंक सहित तेस्रो स्थानमा छ । आज हुने अर्को खेलमा ५ खेलमा १५ अंकसहित शीर्षस्थानमा रहेको अष्ट्रेलियाले अंकविहिन चाइनिज ताइपेइसँग खेल्नेछ । नेपाल ६ अंकसहित चौथो स्थानमा नै छ ।नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने हो भने कम्तिमा अर्को खेलमा जित हासिल गरेर अन्य समूहको नतिजाको प्रतीक्षा गर्नुपर्छ । हार बेहोरेपनि नेपालले प्लेअफको बाटोबाट एसियन कप छनोटमा स्थान बनाउन भने सक्नेछ । नेपालले अब अर्को खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार रातको ९:४५ सुरु हुनेछ । सोमबार खेलको १४ औं मिनेटमा जोर्डनका मोहमद सुलेमानले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई किरणले आफ्नो बायाँतर्फ डाइभ दिँदै उत्कृष्ट बचाउ गरे । २१ औं मिनेटमा पुजन उपरकोटीले पेनाल्टी क्षेत्रभित्र बल गुमाएपनि डिफेन्डर अनन्त तामाङले ६ यार्ड बक्स भित्र आएको लो क्रसलाई क्लियर गर्दै खतरा टारे ।

खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत अग्रता लियो । रोहित चन्दले सुलेमानलाई पेनाल्टी क्षेत्रभित्र लडाएको भन्दै रेफ्रीले पेनाल्टी दिए । बाहा फैसल सेफले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । गोलरक्षक किरणले सहि दिशामा डाइभ दिएपनि सेफको शक्तिशाली प्रहार रोक्न सकेनन् । खेलको २९ औं मिनेटमा डिफेन्डर विकास खवास घाइते हुँदै बाहिर जानु परेपछि सुनिल बल मैदान प्रवेश गरेका थिए । ३५ औं मिनेटमा सुनिल बलले पेनाल्टी क्षेत्रभित्र दिएको बललाई अन्जन विष्टले भेट्न नसक्दा नेपालले बराबरी गर्ने अवसर सदुपयोग गर्न सकेन । खेलको ४२ औं मिनेटमा जोर्डनले अग्रता दोब्बर पर्ने अवसर गुमायो । किरण चेम्जोङले पहिलो प्रहार बचाएपछि जोर्डनका खेलाडीले रिबाउन्डमा गरेको दोहोरो प्रहारले पोस्टको दिशा लिन सकेन । इन्ज्युरी समयमा सुलेमानले तीन फ]डिफेन्डरलाई छक्याउँदै गरेको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो ।

दोस्रो हाफको सुरुवातमै जोर्डनले आफ्नो अग्रता दोब्बर पार्यो । सेफले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा झन्डै ३५ यार्ड टाढाबाट गरेको शक्तिशाली फ्रिकिक गोलरक्षक किरणलाई बिट गर्दै टप कर्नरमा गोल भएको थियो । नेपालले खेलको ५८ औं मिनेटमा तीन खेलाडी परिवर्तन गरेको थियो । नवयुग श्रेष्ठ, एरिक विष्ट र विशाल राई मैदान प्रवेश गर्दा पुजन उपरकोटी, सन्तोष तामाङ र दीनेश राजवंशीले बाहिरिएका थिए । आक्रामक परिवर्तन गर्दै नेपालले खेलमा फर्कने गरेको प्रयासले शुभ संकेत पनि देखाएको थियो । तर ५८ औं मिनेटमा मनिष र नवयुगले पेनाल्टी क्षेत्र बाहिर बल नियन्त्रण गर्न नसक्दा नेपालले कुनै खतरा सिर्जना गर्न सकेन । ६८ औं मिनेटमा जोर्डनले ३-० को अग्रता लियो । छोटो फ्रिकिकमा जोर्डनले उत्कृष्ट मुभ बनाउँदै गोल गरेको थियो । दायाँ विंगबाट आएको क्रसलाई याजान अलअरबले फार पोस्टमा सहजै हेडरमार्फत गोल गरेका थिए । ८६ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै विशाल राईले लामो दुरीबाट गरेको प्रहार पनि बाहिरियो ।

Nabintech