१५ चैत्र २०८०, बिहीबार
एमाले एकता बचाउने कसरत जारी, वार्ता सकारात्मक रहेको दावी

  • टाइम्स संवाददाता

  • २६ जेष्ठ २०७८, बुधबार १८:२८

सत्तारुढ दल नेकपा (एमाले) को एकता बचाउने दोस्रो पुस्ताका नेताहरुको प्रयास जारी छ । वार्ता सकारात्मक दिशामा उन्मुख रहेकाले चाँडै केही परिणाम आउने विश्वास पनि वार्तामा सहभागी नेताहरुको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत आइतबार अपरान्ह ६ बुँदे प्रस्तावसहित एकताको आव्हान गर्नुभएको थियो । त्यसको अर्को दिन नेता माधवकुमार नेपालले आफ्नो पक्षका नेताहरुसँग आवश्यक परामर्श गरी सोमबार अपरान्ह छ बुँदे प्रस्तावमै अध्यक्ष ओलीको आव्हानबारे टिप्पणी र खण्डन गर्नुभयो । यसअघि २०७५ जेठ २ गतेअघि साविक एमालेमा फर्किन तयार हुने हो भने पार्टी एकता जोगिन सक्ने प्रस्ताव नेता नेपाल पक्षका थियो । सोही मागलाई मध्येनजर गर्दै अध्यक्ष ओलीले जेठ ३ पूर्व फर्किन आफू तयार रहेको प्रस्ताव गर्नुभयो । पार्टीको तर्फबाट गरिएको कारवाही खारेज गर्ने प्रतिवद्धता समेत गर्नुभएको थियो । तर नेता नेपाल पक्षले त्यो प्रस्तावलाई जालसाजीकोरुपमा बुझ्यो । आव्हानपत्रमा अध्यक्ष ओलीले सर्वोच्च अदालतमा विपक्षी गठबन्धनसँगै मिलेर दायर गरिएको रिटको हस्ताक्षर फिर्ता हुनुपर्ने प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावलाई नेता नेपालले आफूहरुलाई अल्मल्याउने प्रपञ्चको रुपमा बुझ्नुभयो । सोहीकारण उहाँले जवाफपत्रमा प्रतिनिधिसभा विघटन फिर्ताको प्रस्ताव तेस्र्याउनुभयो । विघटन फिर्ता लिएमा हस्ताक्षर पनि फिर्ता हुने प्रस्ताव नेता नेपालले राख्नुभयो । अध्यक्ष ओली र नेता नेपाल पक्षको सोही आव्हानपत्र र खण्डनपत्रले पार्टी नेताहरु चिन्तित मात्र भएनन् अव पार्टी मिल्नै नसक्ने अवस्थामा पुगेको हो कि ! अड्कल लगाए । तर दोस्रो पुस्ताका नेताहरुले आफ्नो प्रयास जारी राख्नुभयो । यसअघि कार्यदलस्तरमा छलफल भइरहेको थियो । तर अहिले कार्यदल नभएपनि सोही हैसियतमा नेताहरुबीच छलफल जारी छ । दुवै पक्षका नेताहरुबीच औपचारिक र अनौपचारिक वार्ता जारी छ । हिजो मंगलबार पनि करिब पाँच घण्टा लामो समयसम्म दुई पक्षबीच छलफल भएको नेताहरुले बताउनुभएको छ । वार्तामा मूलतः अध्यक्ष ओली र नेता नेपालले उठाउनुभएको विषयमै केन्द्रित भएर छलफल भइरहेको छ । विवादकाबीच पार्टी एकता कायमै राख्ने वैकिल्पक उपाय खोजी गर्ने प्रयास पनि नेताहरुले गरिरनुभएको छ । वार्तामा सहभागी यसअघिको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले वार्ता जारी रहेको र ठोस परिणामको खोजी गर्ने काम भइरहेको बताउनुभयो । “हाम्रो बार्ता निरन्तर जारी छ, परिणाम नआउन्जेल प्रयास जारी राख्ने कुरा भएको छ” नेता नेम्वाङले भन्नुभयो, “छलफल सकारात्मक भइरहेकाले केही परिणाम आउनेमा हामी आशाबादी छौं ।”

अध्यक्ष ओली र नेता नेपालको प्रस्तावपत्र सार्वजनिक भएपछि पार्टी नेता र कार्यकर्ताहरुले पार्टी एकता जोगाउन अनेक सुझावसहितको प्रतिक्रिया सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । पार्टी एकता कायम गरेर जाने र बाटो अलग गरेर अगाडि बढ्ने दुवैथरीका प्रतिक्रियाले सामाजिक सञ्जालमा स्थान पाएका छन् । पार्टी एकता जोगाउन नसक्ने हो भने आगामी निर्वाचनमा दुवै पक्षको हार सुनिश्चित् हुने र प्रतिपक्षी दललाई त्यसको सिधै फाइदा पुग्ने कुरामा नेता कार्यकर्ताहरुले सुझाएका छन् । नेता नेपाल पक्षका स्थायी कमिटी सदस्य भीमप्रसाद आचार्यले अध्यक्ष ओली र नेता नेपालबीचको प्रस्तावमै केन्द्रित भएर आफूहरुबीच नियमित छलफल भइरहेको बताउनुभयो । “वार्ता सकारात्मक छ, तर परिणाम नआउन्जेल केही भन्न सकिदैन” नेता आचार्यले थप्नुभयो, “पार्टी एकता कायमै रहोस् भन्ने हामी सबैको चाहना हो तर समाधानका लागि कोही पछाडि नहट्ने हो भने समाधान कसरी हात लाग्छ ?” कार्यदलस्तरमा भइरहेको छलफलमा अध्यक्ष ओली पक्षबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमालको सहभागीता रहने गरेको छ । त्यस्तै, नेता नेपाल पक्षबाट नेता अचार्य, गोकर्ण विष्ट, घनश्याम भुषाल र योगेश भट्टराईको सहभागिता छ । हिजो लामो वार्ता र संवाद गर्नुभएका नेताहरुले आजको बैठकबारे समय तय भइनसकेको भएपनि वार्ता र छलफल जारी राख्ने कुरा भएको नेता आचार्यले जानकारी दिनुभयो ।

Nabintech