• १६ असार २०७९, बिहीबार
वाग्मती प्रदेश सभामा काँग्रेस सांसद वैद्यको आपत्तिजनक अभिव्यक्ति


वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तीजनक अभिव्यक्ति दिएका छन् । शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताएका हुन् । नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए । आफ्ना धारणा राख्न ६ मिनेटको समय पाएका वैद्यले भने, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।’ उनले आवश्यक परे आफैँ पनि गोड्से बन्न तयार रहेको बताएका छन् । वैद्यले यस्तो अभिव्यक्ति दिंदा पनि प्रदेशसभामा न कसैले नियमापत्ती जनायो, न त सभामुखले नै रोके । संसदमा आपत्तीजनक वा अमर्यादित अभिव्यक्ति आए रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिन सक्छन् ।

वैद्यको चौतर्फी विरोध, आत्मालोचना गर्न कांग्रेस प्रवक्ताको निर्देशन

उनको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ । उनले सार्वजनिक रुपमा यो अभिव्यक्ति फिर्ता लिन पनि आग्रह गरिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यले संसदमा संयम गुमाएको टिप्पणी गर्दै आत्मालोचना गर्न निर्देशन दिएका छन् । ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन,’ शर्माले ट्वीट गरेका छन् । वैद्य काठमाडौं क्षेत्र नं. ४ (क) बाट बाग्मती प्रदेशसभामा काँग्रेसबाट निर्वाचित सांसद हुन् । उनी पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्षसमेत हुन् ।

Nabintech