११ बैशाख २०८१, मंगलवार
इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी विजयी

  • टाइम्स संवाददाता

  • ६ असार २०७८, आईतवार ०७:४५

इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी विजयी हुनुभएको छ । तीन जना प्रतिस्पर्धीलाई हराउँदै रइसी इरानको १३ औं राष्ट्रपति बन्नुभएको बीबीसीले जनाएको छ । उहाँले ६२ प्रतिशत मत प्राप्त गर्नुभएको हो । रइसीले आउँदो अगस्ट महिनाको सुरुवातमा शपथ लिने बताइएको छ । इरानमा राष्ट्रपति सर्वोच्च नेता पछि दोस्रो वरीयतामा पर्छ । राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्त्वपूर्ण प्रभाव हुन्छ । तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ । रइसी अहिले इरानका प्रधानन्यायाधीश हुनुहुन्छ र उहाँ अतिरूढिवादी विचार राख्नुहुन्छ । रइसीविरुद्ध अमेरिकाको प्रतिबन्ध छ । राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्दामा संलग्न रइसी अमेरिकी सरकारले प्रतिबन्ध लगाएको पहिलो राष्ट्रपति बन्नुभएको छ । रइसीको नेतृत्वमा इरानमा सामाजिक गतिविधिमा थप नियन्त्रण, महिलाका लागि कम स्वतन्त्रता र रोजगार, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा कडा नियन्त्रणसहित कट्टरपन्थी इस्लामिक सरकार गठन गर्ने कोसिस हुने ठानिएको छ । कट्टरपन्थीहरू पश्चिमा विश्वलाई शङ्काको दृष्टिले हेर्छन् । तर रइसी र सर्वोच्च नेता खामेनेई दुवै अन्तर्राष्ट्रिय परमाणु सम्झौतालाई बिउँताउनु पर्ने पक्षमा रहेको ठानिन्छ । सन् २०१५ मा हस्ताक्षर भएको सम्झौताले इरानलाई उसका परमाणु गतिविधिलाई सीमित गर्ने सर्तमा पश्चिमा प्रतिबन्धहरूबाट राहत दिएको थियो ।

इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण भएकोमा जोड दिँदै आएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा त्यस सम्झौताबाट अमेरिकापछि हट्ने निर्णय गरेर इरानमाथि पुनः व्यापार प्रतिबन्धहरू लगाउनुभएको छ । पश्चिमी प्रतिबन्धले इरानीहरूले आर्थिक कठिनाइको सामना गर्नुपरेको छ । सम्झौता अनुसार प्रतिबन्धित गरिएको आणविक कार्यलाई इरानले पुनः सुरु गरेको छ ।

Nabintech