१६ चैत्र २०८०, शुक्रबार
डेनमार्क अन्तिम १६ मा, बेल्जियम अपराजित

  • टाइम्स संवाददाता

  • ८ असार २०७८, मंगलवार ०८:२१

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह बी को अन्तिम चरणको खेलमा जित हासिल गर्दै बेल्जियम समूह विजेता र डेनमार्क उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन् ।

बेल्जियमले फिनल्यान्डलाई २-० ले पराजित गर्दा डेनमार्कले भने जित्नैपर्ने खेलमा रसियालाई ४-१ ले पराजित गर्दै नकआउट चरणको यात्रा तय गर्यो । बेल्जियमले ३ खेलमा ९ अंकका साथ शत प्रतिशत जितको नतिजा निकाल्दै शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो ।

डेनमार्क, रसिया र फिनल्यान्डको समान ३-३ अंक रहेपनि तीन टोलीबीच नतिजामा डेनमार्क राम्रो गोलअन्तरका साथ दोस्रो रहँदै नकआउट चरणमा प्रवेश गर्यो । फिनल्यान्ड ३ अंकका साथ तेस्रो स्थानमा छ र अन्य समूहको नतिजा कुर्नेछ । रसिया भने पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

सेन्ट पिटर्सबर्गमा बेल्जियमले दोस्रो हाफमा गरेको २ गोलको मदतले फिनल्यान्डलाई २-० ले पराजित गर्न सफल रहयो । बेल्जियमले खेल अवधिभर फिनल्यान्डलाई दबाबमा राखेपनि गोलका लागि ७४ औं मिनेटसम्म कुर्नुपरेको थियो । बेल्जियमको अधिकांश आक्रमणमा बाधक बनेका गोलरक्षक लुकास ह्रादेच्की नै बेल्जियमको अग्रतामा निर्णायक बन्न पुगे ।

कर्नरमा आएको बललाई थोमस भर्मालेनले हेडर गर्दा पोस्टमा लाग्दै आएको बल गोलरक्षक ह्रादेच्कीलाई लाग्दै गोल भएको थियो । उनले बचाउने प्रयास गरेपनि बल भित्र छिरेको थियो । ८१ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमको जित पक्का गरे । उनले केभिन डे ब्रुएनको पासलाई सहजै नियन्त्रणमा लिँदै गरेको फिनिसमा ह्रादेच्की निरिह बनेका थिए ।

यस्तै कोपेनहेगनको पार्केन रंगशालामा घरेलु टोलीले रसियालाई हराउँदा बलियो प्रदर्शन गर्यो । पहिलो हाफको ७ मिनेट समय बाँकी रहँदा मिकेल डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । उनले पिएर एमिल होएबिएरको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार दर्शनीय गोलमा परिणत भएको थियो ।

दोस्रो हाफको ५९ औं मिनेटमा युसुफ पौलसेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे । डिफेन्डरले गम्भीर गल्ति गर्दै दिएको पासलाई पौलसेनले सहजै नियन्त्रणमा लिँदै सहजै गोल गरेका थिए । ७० औं मिनेटमा रसियाले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने अवसर पाएको थियो । यानिक भेस्टेगार्डले पेनाल्टी क्षेत्रभित्र सोबोलेभलाई लडाएपछि प्राप्त पेनाल्टीलाई कप्तान आर्टम ज्युबाले गोल गरेका थिए ।

७९ औं मिनेटमा डिफेन्डर आन्द्रेस क्रिस्टेन्सनले गोल गर्दै डेनमार्कको २ गोलको अग्रता पुन: स्थापना गरे । गोलरक्षक सोबोलेभले लगातार दुई प्रहार विफल पारेपछि आएको रिबाउन्डमा उनले झन्डै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार गोल भएको थियो । ८२ औं मिनेटमा जोआकिम माहलेले गोल गर्दै डेनमार्कको जित सुनिश्चित गरे । काउन्टर अट्याकमा अघि बढेको डेनमार्कका माहलेले गोलरक्षक सफोनोभलाई उत्कृष्ट फिनिसमा बिट गर्दै ४-१ को जित दिलाए ।

डेनमार्कले अब अन्तिम १६ मा वेल्सको सामना गर्नेछ । बेल्जियमले भने तेस्रो स्थान हासिल गर्ने मध्य एक टोलीको सामना गर्नेछ । डेनमार्कले पहिलो खेलमा फिनल्यान्डसँग १-० र दोस्रो खेलमा बेल्जियमसँग २-१ को हार बेहोरेको थियो । अन्तिम खेलमा जित हासिल गर्दै अर्को खेलको नतिजा पनि अनुकुल आएपछि डेनमार्क अघि बढेको हो ।

समूह ए र समूह सी को सम्पूर्ण खेल समाप्त भइसकेको छ । समूह ए बाट इटाली र समूह सी बाट नेदरल्यान्ड्सले शत प्रतिशत जितको नतिजा निकाल्दै अन्तिम १६ को यात्रा तय गरिसकेका छन् ।

इटालीले अब अन्तिम १६ मा समूह सी को दोस्रो स्थानमा रहेको अष्ट्रियासँग खेल्नेछ । अष्ट्रियाले सोमबार भएको खेलमा युक्रेनलाई १-० ले पराजित गर्दै पहिलो पटक नकआउट चरणको यात्रा तय गरेको थियो । अष्ट्रियाले ३ खेलमा २ अंक जोड्दै दोस्रो स्थान हासिल गर्दा ३ खेलमा ९ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहयो ।

नर्थ म्यासेडोनियालाई ३-० ले पराजित गर्दै डच टोलीले समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । ३ अंक जोडेको युक्रेन भने अब अन्य समूहको नतिजा कुरिरहेको छ । नर्थ म्यासेडोनिया पहिलो सहभागितामा अंकविहिन रहँदै घर फर्कनुपर्यो ।

अब नेदरल्यान्ड्सले अन्तिम १६ मा तेस्रो स्थान हासिल गर्ने टोलीको सामना गर्नेछ । कुन टोलीसँग खेल्ने भन्ने टुंगो पछि लाग्नेछ ।

Nabintech