१२ बैशाख २०८१, बुधबार
अफगानिस्तान–इरान सीमा नाका तालिबानको नियन्त्रणमा, अमेरिकी सेना अगष्ट ३१ सम्ममा फिर्ता हुने

  • टाइम्स संवाददाता

  • २६ असार २०७८, शनिबार ०७:०१

तालिबानले इरानसँगको महत्त्वपूर्ण सीमा नाका आफ्नो नियन्त्रणमा लिएको पश्चिम अफगानिस्तानका अधिकारीले बताएका छन् । इस्लाम काला नाकाका सबै गतिविधि रोकिएको भन्सार अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकी सैनिकको फिर्ती प्रक्रियासँगै अफगानिस्तानमा तालिबानले विभिन्न भू–भाग कब्जा गरिरहेको छ ।  अफगानिस्तान र इरानबीचको एक प्रमुख सीमा नाका तालिबानले कब्जा गरेको अफगान अधिकारीहरूले स्वीकारेका छन् । इस्लाम काला नाका इरानसँगको सबभन्दा ठूलोमध्यको व्यापारिक नाका हो । त्यहाँबाट सरकारले मासिक २ करोड डलर राजस्व उठाउँथ्यो । अफगानिस्तानको रक्षा मन्त्रालयले नाका आफ्नो नियन्त्रणमा लिन प्रयासरत जारी रहेको बताएको छ। तालिबानले अफगानिस्तानको ८५ प्रतिशत भू–भाग आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ । तर उसको दाबीलाई सरकारले अस्वीकार गरेको छ । यसै हप्ता अमेरिकी सेनाले अफगानिस्तानमा रहेको मुख्य सैन्य अखाडा बाग्रामलाई छाडेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिने बताउनुभएको छ । तालिबान लडाकु समूहले देशैभर उपस्थिति बढाइरहेका बेला बाइडेनको पछिल्लो प्रतिक्रिया आएको हो । यसअघि नै सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना पूर्णरूपमा फर्किसक्ने समय सीमा तोकिएको थियो । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फर्किसक्ने तालिबानसँग सहमति गर्नुभएको थियो ।

Nabintech