पाटेबाघको संरक्षण गर्नैका लागि ११ वर्षअघि स्थापना गरिएको देशकै कान्छो बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गएको छ । निकुञ्ज स्थापना हुँदा चार वटा मात्र बाघ रहेकोमा हाल आएर २५ भन्दा बढी पुगेको निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले निकुञ्ज स्थापना हुँदा ४ वटा बाघ रहेकोमा त्यसको आठ वर्षपछि गरिएको गणनामा सो संख्या २१ पुगेको जनाउँदै हाल २५ भन्दा बढी रहेको आकलन गरिएको बताउनुभयो । उहाँले निकुञ्जमा पाटेबाघको संख्या बढेर २५ भन्दा बढी भएको अनुमान गरिएकोले बाघको वासस्थान र आहारा प्रजाती व्यवस्थापनलाई जोड दिईरहेको बताउनुभयो । विश्वमै लोपउन्मुख अवस्थामा रहेको पाटेबाघ र आहारा प्रजाती संरक्षणका लागि विभिन्न काम गरिरहेको निकुञ्जले जनाएको छ । निकुञ्जले तारबार, पोखरी, वनपथ, घाँसे मैदान, मचान, सुरक्षा पोष्ट लगायत पुर्वाधार निर्माण गरेको प्रमुख संरक्षण अधिकृत शाहले बताउनुभयो । ‘बाघ हेर्न आउने पर्यटकका लागि धेरै पूर्वाधार तयार भईसकेका छन्, अझै कतिपय पूर्वाधार बनाउने योजनामै छौं,’ उहाँले भन्नुभयो । सन् २०२० मा निकुञ्जले आन्तरिक र बाह्य पर्यटक भित्र्याउने तयारी गरिरहँदा कोरोना महामारीले सबै योजना प्रभावित बन्न पुगेको थियो । महामारी नियन्त्रणमा आएपछि बाघ हेर्न आउने पर्यटक लक्षित कार्यक्रम अगाडी बढाउने निकुञ्जको तयारी छ । बाँके राष्ट्रिय निकुञ्जभित्र बाघ अहिले आफ्नै प्राकृतिक बासस्थानमा रमाईरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी महेश न्यौपानेले बताउनुभयो । ‘आहारा प्रजाती बढेपछि बाघ आफ्नै बासस्थानमा बस्न रुचाउँछ, त्यसकारण बाघको आहारा बढाउने काम निकुञ्जले गरिरहेको छ, त्यसकारण बाघको संख्या पनि बढिरहेको छ ।’ उहाँले भन्नुभयो । निकुञ्जमा पाटेबाघको संख्या बढेसँगै संरक्षणमा अनेक चुनौती थपिएको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत न्यौपानेका अनुसार बाघको संख्या बढेपनि बासस्थान क्षेत्र विस्तार गर्न कठिनाई हुनु, चोरी शिकार नियन्त्रण नहुनु, मानव र बाघबीच द्वन्द्व हुनु, निकुञ्ज क्षेत्रमा विकासका पुर्वाधार निर्माण गरिनु संरक्षणका चुनौती हुन् ।
बाँके निकुञ्ज बाँके, दाङ र सल्यानसम्म ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यी तीन वटै जिल्लाको अधिकांश भू–भागलाई निकुञ्जको मध्यवर्ती क्षेत्रले छोएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्तीसोनारी, बैजनाथ र कोहलपुर, दाङको बबई र दंगिसरण तथा सल्यान कालिमाटीमा दर्जनौं मानव बस्ती छन् । -गोरखापत्रअनलाईनबाट