८ बैशाख २०८१, शनिबार
बालविवाह अन्त्यका लागि बाँकेका स्थानीय तहको चासो

  • टाइम्स संवाददाता

  • २५ श्रावण २०७८, सोमबार १६:००

बाँकेमा बालविवाह अन्त्यका लागि स्थानीय तहहरुले चासो देखाएका छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा र जानकी गाउँपालिकाले बालविवाह विरुद्ध वडास्तरमा अभियान सञ्चालन गरी बालविवाहमुक्त वडा घोषणा गर्दै आएका छन् ।  कोहलपुर नगरपालिकाले अबको एक वर्षभित्र सबै वडा बालविवाहमुक्त घोषणा गर्ने गरी अभियानलाई अगाडि बढाएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए । कोहलपुर नगरपालिकाले बालविवाहमुक्त अभियान निर्देशिका २०७६ अनुसार नगरका सबै वडालाई बालविवाहमुक्त गर्ने गरी सचेतना अभियान सञ्चालन गर्नुका साथै सरोकारवाला निकायसँग आवश्यक छलफलका साथ अगाडि बढेको उनको भनाइ छ । ‘गत वर्षको चैत १९ गतेका दिन कोहलपुर नगरपालिकाले एकैदिन वडा नम्बर १२ र वडा नम्बर १३ लाई बालविवाहमुक्त वडा घोषणा गरेका थियौं,’ उनले भने, ‘अहिले वडा नम्बर १ लाई पनि बालविवाह वडामुक्त घोषणा गरी अर्को सफलता पाएका छौं भने अब केही दिनमा नै वडा नम्बर ३ लाई पनि बालविवाहमुक्त वडा घोषणा कार्यक्रम गरिने छ ।’ बालविवाह घरेलु हिंसाको प्रमुख कारण रहेकोले यसको अन्त्यका लागि गाउँपालिकाले अभियान सञ्चालन गरिरहेको बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा विश्वकर्माले बताए । हालसम्म गाउँपालिकाको एउटा वडा बालविवाहमुक्त घोषणा गरिसकेको र छिट्टै अरु वडामा पनि घोषणा गर्ने तयारीमा रहेको उनले बताए ।

खजुरामा वडास्तरबाटै बालविवाह विरुद्धको अभियान सञ्चालन भएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । वडालाई बालविवाहमुक्त गर्न बनेको कार्यविधिको मापदण्डअनुसार अभियान सञ्चालन भइरहेको बताउँदै उनले छिट्टै गाउँपालिकालाई नै बालविवाहमुक्त गाउँपालिका घोषणा गर्ने योजनाका साथ काम भइरहेको बताए । २०६८ सालको जनगणना अनुसार बाँकेमा ६६.०८ प्रतिशत बालविवाह रहेको छ । सामाजिक परम्परा र प्रेम गरेर बालविवाह गर्ने क्रम अझै रोकिएको छैन । जनचेतनाको कमी, जातीय विभेद, आर्थिक अभाव, गरीबी र बेरोजगार, सामाजिक परम्परा, अशिक्षा, धर्म र संस्कार, कुसंस्कार, पुरानो रीतिरिवाज, पुरुषप्रधान समाज, पारिवारिक दबाब, कानूनी अज्ञानता, साथीहरुको देखासिकी, सामाजिक सञ्जाल र मोबाइल दुरुपयोग लगायत कारणले बालविवाह हुँदै आएको जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले बताए । स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत वडास्तरमा स्थानीय तहले सञ्चालन गरेको बालविवाह विरुद्धको अभियानमा साझेदारी गर्दै आएको छ । परियोजनाको सहयोगमा जिल्लामा हालसम्म पाँच स्थानीय तहका १० वटा वडा बालविवाहमुक्त घोषणा भइसकेको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका ४ वटा वडा,  कोहलपुर नगरपालिकाका ३ वटा वडा, खजुरा, बैजनाथ र जानकी गाउँपालिकाका एक-एक वटा वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् । कोहलपुर नगरपालिकाको वडा नम्बर ३, बैजनाथको वडा नम्बर ५ र जानकीको वडा नम्बर १ मा बालविवाहमुक्त घोषणा गर्ने तयारी भएको छ । वडालाई बालविवाहमुक्त घोषणा गर्न स्थानीय तहमा बालअधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्य सम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशील रहेको छ । बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका अनुसार, वडामा २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाहमुक्त घोषणा हुने प्रावधान रहेको स्याकका अध्यक्ष पाण्डेले बताए । बाँकेलाई बालविवाहमुक्त गर्न प्लान इन्टरनेशनल नेपालले जिल्लाका आठवटै स्थानीय तहसँगको सहकार्यमा स्याक नेपाललाई बालविवाह रोकथाम परियोजना सञ्चालन गर्न सहयोग गरेको छ । सो परियोजनाले आर्थिक वर्ष २०७७/७८को असार मसान्तसम्म जिल्लामा कम्तीमा पनि २० वडालाई बालविवाहमुक्त घोषणा गर्ने  लक्ष्य रहे पनि कोरोना भाइरस महामारीका कारण प्रभावित हुन पुगेको स्याकका अध्यक्ष पाण्डेले बताए । -रासस

Nabintech