११ बैशाख २०८१, मंगलवार
बाँकेमा कोरोनाका ४ जना थपिए, १६ जना डिस्चार्ज, कोभिडबाट कोहलपुरकी महिलाको मृत्यु

  • टाइम्स संवाददाता

  • १३ भाद्र २०७८, आईतवार १६:०३

बाँकेमा पछिल्लो २४ घण्टामा थप ४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ६७ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २३ नमूना परिक्षण गर्दा १ जना, नेपालगञ्ज मेडिकल कलेजमा २७ नमुना परीक्षण गर्दा २ जना र बागेश्वरी ल्याबमा १७ नमूना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका १ जना छन् । १ जना महिलामा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९३ हजार ३६४ नमुना परीक्षण गर्दा १७ हजार ९ सय ८८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा १६ जना डिस्चार्ज भएका छन् । १० जना महिला र ६ जना पुरुष गरी १६ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ५५६ जना डिस्चार्ज भएको समितिले जनाएको छ । सिकिस्त बिरामीको संख्या १८ पुगेको छ भने मध्यम बिरामीको संख्या २४ पुगेको छ । ६ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।
त्यस्तै कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–११ की ६० वर्षीया महिलाको उपचारका क्रममा भेरीमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि उनलाई १० गते भेरीमा भर्ना गरिएको थियो । त्यसको भोलिपल्ट कोभिड पुष्टि भएको थियो । उनको उपचारका क्रममा आज दिउँसो पौने एक बजेतिर मृत्यु भएको हो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २९ पुगेको छ ।

Nabintech