१५ चैत्र २०८०, बिहीबार
स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीको सबलीकरण प्रमुख प्राथमिकता : डब्ल्यूएचओ

  • टाइम्स संवाददाता

  • २५ भाद्र २०७८, शुक्रबार १५:४३

विश्व स्वास्थ्य संगठन  (डब्ल्यूएचओ) का दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीको सबलीकरण प्रमुख प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन् । कोरोना महामारीको प्रभावकारी रूपमा प्रतिकार्य गर्न र भविष्यमा आउन सक्ने स्वास्थ्य आपतकालको तयारीका लागि स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई थप सबलीकरण गर्नु पर्नेमा उनीहरुको जोड छ । सदस्य राष्ट्रहरुको बैठकमा डब्ल्यूएचओ दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले भनिन्, ‘कोभिड–१९ महामारीले अभूतपूर्व चुनौतीहरू ल्याएको छ । विश्वको कुनै पनि देश यसस्तरको आपतकालको सामना गर्नका लागि पर्याप्त मात्रामा तयार थिएन । स्वास्थ्य सुरक्षा प्रणालीहरू सबलीकरण गर्ने हाम्रा प्रयत्नहरूमा हाल जारी महामारीबाट सिकेका पाठहरूको उपयोग गर्नु अत्यन्त महत्वपूर्ण छ ।’ आपतकालीन जोखिम व्यवस्थापनको सबलीकरण सन् २०१४ देखि विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रको लागि सबैभन्दा उच्च प्राथमिकताको कार्यक्रमको रूपमा रहँदै आएको उनले बताइन् । यस क्षेत्रका ६ वटा देशलाई प्रभावित बनाएको महाप्रकोप, सन् २००४ मा हिन्द महासागरमा आएको सुनामी पश्चात यस क्षेत्रले प्रतिकार्यको क्षमता निरन्तर रूपमा वृद्धि गर्दै आएको छ । कोभिड–१९ महामारी शुरु हुनुभन्दा केही महिना पहिले मात्र, यस क्षेत्रका सदस्य राष्ट्रहरूले ‘दिल्ली घोषणापत्र’ अनुमोदन गरेका थिए । यसको उद्देश्य जोखिमको लेखाजोखालाई विस्तार गरेर, लगानी अभिवृद्धि गरेर र बहुक्षेत्रीय योजनाहरूको कार्यान्वयनलाई थप प्रभावकारी बनाएर आपतकालीन तयारी क्षमतालाई थप सुदृढ बनाउने थियो ।

Nabintech