१६ चैत्र २०८०, शुक्रबार
मान्छे खाएको पाटेबाघकाे जाेडी फेला, नियन्त्रणमा लिँदै निकुञ्ज

  • टाइम्स संवाददाता

  • २८ भाद्र २०७८, सोमबार १६:३६

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा मान्छे खाएको पाटेबाघको जोडी फेला परेको छ। पूर्वपश्चिम राजमार्गको गाभरस्थित भट्टीखोलाको भित्र निकुञ्जमा ती बाघ फेला परेका हुन्।  सोही ठाउँमा आइतबार बेलुकी स्थानीय एक ब्यक्तिलाई बाघले झम्टेको थियो। स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका पुरुषलाई बाघले खाएको थियो।  आइतबार बेलुकीदेखि एक्कासी हराएका उनको खोजी गर्दा सोमबार बिहान आधा शरीर खाएको अवस्थामा शव भेटिएको थियो। मृतकको खुट्टासहितका अंगहरु राजमार्गभन्दा करिव ५ सय मिटर उत्तरतर्फ निकुञ्ज भित्रको जंगलमा भेटिएको थियो। बाघले मान्छे खाएको समाचार सार्वजनिक भएपछि ठूलो संख्यामा जम्मा भएका स्थानीयले घटनास्थल आसपासमै बाघलाई प्रत्यक्ष देखेका हुन्।  ‘मान्छे मारेकै ठाउँमा दुई वटा पाटेबाघ घुमिरहेका छन्, अहिले बाघ हेर्न सयौंको संख्यमा मान्छे घटनास्थलमा भएका छन्,’ घटनास्थलमै रहेका स्थानीय धर्मराज खड्काले  भने, ‘बाघ गाउँतिर छिर्ने प्रयासमा छन्, राजमार्गमा मान्छेहरु टन्नै जम्मा भएकाले बाघ निकुञ्जभित्रै लुकेर बसेका छन्।’ मान्छे खाएको बाघलाई आफूहरुले प्रत्यक्ष रुपमै देख्न पाएको उनले बताए। खड्काका अनुसार त्यहाँ दुई वटा पाटेबाघ घुमिरहेका छन्। ‘हाम्रो अनुमानमा यिनीहरु बाघ र बघेनी हुन सक्छन्, राजमार्गमा मान्छेको हल्ली खल्ली हुँदा पनि बाघलाई कुनै डर छैन,’ खड्काले भने। मान्छे खाएको बाघबाट थप घटना हुन नदिनका लागि बाँके राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिने तयारी गरेको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए। ‘मान्छेलाई मारेको बाघको जोडी अहिले पनि घटनास्थल छेउछाउमै छ,’ उनले भने, ‘बाघले थप क्षति नगरोस् भनेर नियन्त्रणमा लिने प्रयास गरिरहेका छौं।’ निकुञ्ज स्रोतका अनुसार बाघ नियन्त्रणमा लिन निकै चुनौती छ। दुई वटा बाघ एकै ठाउँमा भएका कारण नियन्त्रणमा लिन चुनौती भएको हो।  बाघले मारेका ती ब्यक्तिको भने अझै नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बाघको आक्रमणबाट मृत्यु भएका ब्यक्ति भारतीय भएको पुष्टी भएपनि नाम र ठेगाना अझै नखुलेको बताए।  ‘मृतकको नाम, ठेगाना अझै खुलेको छैन, बाटोमा हिँड्दै आएको अवस्थामा केही समयदेखि होटलमा काम गर्न थालेको रहेछ, उसको आफन्त कोही पनि सम्पर्कमा आएका छैनन्,’ उनले भने। केही दिनदेखि त्यसक्षेत्रमा पाटेबाघ देखिएपछि निकुञ्ज र प्रहरीले सतर्कता अपनाउँदै आएको एसपी अधिकारीले बताए। स्थानीयका अनुसार आइतबार दिउँसो बाघ गाभर गाउँ नजिकै आएर कराएको र दुई दिनअघि पनि गाउँमै पसेर दुई वटा बाख्रा र बाच्छो मारिदिएको थियो। बाघले मान्छे मारेपछि निकुञ्ज र प्रहरीले राजमार्गको सुरक्षा कडा पारेको एसपी अधिकारीले बताए। ‘निकुञ्जको पोष्टबाट आर्मीले मोटरसाईकल लगायत साना सवारी साधनलाई एक्लै हिँड्न दिएको छैन, नेपाल प्रहरीले पनि कुसुम लगायत स्थानमा समूहमा मात्र सवारी साधनलाई हिँड्न दिएको छ,’ उनले भने। -नागरिकअनलाईनबाट

Nabintech